close

पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाको तयारी पूरा

पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाको तयारी पूरा

Trulli
ADVERTISEMENT

काठमाडौं– दिवंगत पितृका नाममा महादीप दान गर्न आउने भक्तजनका कारण बिहीबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बेलुकी बत्ती बालिने भए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँ व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । 


पशुपति क्षेत्रमा सहज रूपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आएका श्याममणि ढुंगानाले बताए । मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवंगत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप बागमतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ ।


यसो गरे दिवंगत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले बिहीबार बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।


यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ । पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थ सेवन तथा बिक्री वितरण पूर्ण निषेध गरेको छ ।


यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ । शतबीज छर्न विशेष रूपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शंकराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदै छ ।

महानगरको सहयोगमा घुम्ती शौचालय

काठमाडौं महानगरपालिकाको सहयोगमा कोषले घुम्ती शौचालय व्यवस्था पशुपति क्षेत्रमा गरेको छ । बत्ती बाल्ने भक्तजनका लागि वनकाली, शंकराचार्य मठ, चार शिवालय एवं अन्य स्थानमासमेत नेपाली सेना, सशस्त्र र प्रहरीको सहयोगमा पाल टाँगिएको छ ।


बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगंगा र भण्डारखालमा सवारी पार्किङ व्यवस्था मिलाइएको छ । मेलाका लागि महानगरी ट्राफिक प्रहरी प्रभाग गौशालाबाट ट्राफिक एवं सवारी व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

 

मन्दिर तथा त्यसअघिको मुख्य क्षेत्रमा पराल लैजान कोषले निषेध गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । मूल मन्दिरको पश्चिमढोका र दक्षिणढोकाअघि भक्तजनलाई बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । श्री पशुपतिनाथ अमालकोट कचहरीबाट दाउरा व्यवस्था गरी कैलाश चौर, हंशमण्डप, चार शिवालय आदि स्थानमा जाडोबाट बच्न धुनी जगाउने व्यवस्था मिलाइएको छ । 

 

दाउरा नपुग भए टिम्बर कर्पोरेसन पशुपतिबाट पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा लैजाने व्यवस्था मिलाइएको छ । मन्दिर प्रांगण एवं मुख्य क्षेत्रभित्र शतबीज नछर्न उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनलाई आह्वान गरेको छ । यसका लागि सुरक्षाकर्मी एवं स्यवंसेवक परिचालन गरेर व्यवस्थित गरिएको छ । महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा फोहर व्यवस्थापन एवं सरसफाइ व्यवस्था मिलाइएको छ ।

 

बत्ती शुल्क उठाए कारबाही गरिने

कसैले बत्ती शुल्क उठाए प्रचलित कानुनबमोजिम कारबाही गरिने कोषले जनाएको छ । यसका लागि अनुगमन टोली पनि खटाइएको छ । शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शुक्रबार बिहानका लागि मिलाइएको हो ।


पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न संघ–संस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् । काठमाडौं उपत्यका खानेपानीको सहयोगमा कोषले खानेपानी र स्नान गर्ने पानी व्यवस्थापन गरेको छ । मेला क्षेत्र र शतबीज मार्गमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पर्याप्त बत्ती बल्ने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकम एवं दूरसञ्चार प्राधिकरणको सहयोगमा पशुपति क्षेत्रमा मेला अवधिभर बिटिएस सेवाको व्यवस्था मिलाइएको छ ।


बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा बजार राख्नेसँग दस्तुर लिइने भएको छ । सोही अवसरमा बत्ती बाल्नुपर्ने तर आफू उपस्थित हुन नसक्नेसँग कोषले शुल्क लिएर सेवा उपलब्ध गराउनेछ । १ हजार रुपैयाँको रसिद काटेपछि कोषले नै बत्ती बालेर रातभर कुरी बिहान बागमतीमा सेलाउने व्यवस्था मिलाएको छ । रुद्रगारेश्वर क्षेत्रमा यो सेवाको व्यवस्था मिलाइएको कर्मचारी गोकर्ण पौडेलले जानकारी दिए ।

 

महानगरीय प्रहरी वृत्त गौशालामा दमकलको व्यवस्था गरिएको छ । मेलाका लागि नेपाल प्रहरीले पनि विपद् उद्धार टोली पशुपति क्षेत्रमा खटाएको कोषले जनाएको छ । मेला क्षेत्रमा नेपाली सेनाको १४ नम्बर वाहिनी एयरपोर्टका तर्फबाट सैनिक गस्तीको समेत प्रबन्ध मिलाइएको छ । 

 

मेलाका क्रममा पशुपति क्षेत्रमा गरगहना लगाएर नआउन अनुरोध गरिएको छ । साथै, मदिरा सेवन गरेर पशुपति क्षेत्रमा आई होहल्ला एवं हुलहुज्जत गरे कारबाही गरिने भएको छ ।