close

तनहुँको व्यास नगरपालिकामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

तनहुँको व्यास नगरपालिकामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

Trulli
ADVERTISEMENT

दमौली– तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो । 

 

नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 

 

‘सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी सरकारको हो, सोही बमोजिम अतिक्रमित जग्गा फिर्ता ल्याउन संरचना भत्काउने निर्णय गरेका छौ’, उनले भने । उनका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ । 

 

नगरपालिकाका घरनक्सा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीले सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको जानकारी दिए । ‘४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेरै बनेका हुन्’, उनले भने । 

 

कृषि मेला सञ्चालन गर्ने 

 

नगरपालिकाले आगामी पुस ३० गतेदेखि माघ २ गतेसम्म दमौलीमा कृषि पशुपक्षी उपज प्रदर्शनी मेला आयोजना गर्ने तयारी गरेको छ । कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यालय, नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समितिसँग सहकार्य गरी मेला गर्ने तयारी भएको हो । मेलामा उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गरिनेछ । 

 

त्यसक्रममा जिल्लाका विभिन्न ठाउँका कृषकले उत्पादन गरेका कृषि उपज सामग्री विक्री तथा प्रदर्शनीमा राखिनेछ । यसले कृषकले गरेका उत्पादन बजारीकरणमा सहयोग पु¥याउने विश्वास लिइएको छ । नगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवं पर्यटन प्रबद्र्धनका निम्ति विभिन्न देशको प्रतिनिधित्व एवं पहिचान खुल्ने गरी प्रतिकात्मक संरचना निर्माण गर्न व्यास नगरपालिका–१० मा रहेको शिशुवा भतेरीमा करिब एक हजार रोपनी जग्गामा डिप्लोम्याटिक गार्डेन निर्माण गर्ने भएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरिनेछ । 

 

छ महिना अगावै खानेपानी योजना सम्पन्न

 

तनहुँको भानु नगरपालिका–१३ आहालडाँडामा निर्धारित समय अगावै खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँमार्फत निर्माण गरिएको आहालडाँडा लोलार लिफ्टिङ योजना म्याद भन्दा छ महिना अगाडी निर्माण सम्पन्न भएको हो । 

 

चालु आर्थिक वर्षको असार मसान्तभित्र आयोजना निर्माण गर्ने म्याद रहेको डिभिजन कार्यालयका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए । कार्यालयको  ९१ लाख ६६ हजारको लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट ३५ घरमा खानेपानी सुविधा पुगेको छ । 

 

घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुसी भएको उपभोक्ता समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङले जानकारी दिए । खानेपानीको अभावमा पधेंरा, कुवाको पानी उपभोग गर्न बाध्य स्थानीयवासीलाई घरमै धारा जडानपछि सहज भएको उनले बताए । ‘खानेपानीको अभावमा यहाँका स्थानीयवासीले दुःख बेहोर्नुपर्‍यो, अब दुःखका दिन गए’, उनले भने । 

 

खानेपानी योजनाको शनिबार उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले जनताको समस्या समाधानका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताए ।  ‘प्रदेश सरकारले यहाँका जनताको महत्वपूर्ण आवश्यकता तथा समस्या समाधानमा लागिपरेको छ’, उनले भने, ‘प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत पानीको समस्या रहेको यस क्षेत्रमा धारा जडान गरी सहज जीवनयापनलाई सहयोग पुगेको छ, पानीको जोहो गर्नकै लागि लामो समय खर्चनुपर्ने समस्या हटेको छ ।’

 

खानेपानी सहज भएपछि पर्यटकीय क्षेत्र टुटेपानी क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने उनको भनाइ छ । खानेपानी आयोजनाले नेपालकै उत्कृष्ट परिचय बनाएको टुटेपानी होमस्टेको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने मन्त्री विश्वकर्माको भनाइ छ । ‘यो ठाउँ होमस्टेका लागि उपयुुक्त गन्तव्य हो, यहाँका ठाउँ रमणीय छन्, यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको पाइएको छ, घर नजिकै पानी नहुँदा समस्या थियो, तर अब आयोजना निर्माण भएको छ, पानी लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ’, उनले भने । 


    
गण्डकी प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले पानीको समस्या समाधान भएपछि यस क्षेत्रमा पर्यटक आगमन बढ्ने बताए । 

 

अपराध नियन्त्रणमा अन्तरजिल्ला सहकार्य गर्ने सहमति

 

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सहकार्य गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार सम्पन्न तनहुँ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको बैठकले सुरक्षा चुनौतिका विषयमा छलफल गर्दै अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति गरेको हो । 

 

बैठकले अन्तर जिल्ला अपराध रोकथाम, राजमार्ग सुरक्षा, प्राकृतिक स्रोत दोहन नियन्त्रणलगायत विषयमा सहमति भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

 

सीमाका जिल्लाका नदीहरूबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुने गरेको गुनासो आउने गरेकाले त्यसलाई व्यवस्थित गर्न दुवै जिल्लाका सुरक्षा निकायबीच सहकार्य गर्ने विषयमा बैठकमा छलफल भएको थियो । ‘शान्ति सुरक्षाका चुनौतिका विषयमा छलफल गरी त्यस्ता विषयहरूमा सहकार्य गर्दै अगाडी बढ्ने निर्णय भएको छ’, उनले भने । 

 

निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वातावरण सिर्जना गर्न राजनीतिक दलसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मी, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।