close

बागलुङ नगरपालिकामा ‘गरिबसँग ऋृषिराम’ कार्यक्रम सञ्चालन 

बागलुङ नगरपालिकामा ‘गरिबसँग ऋृषिराम’ कार्यक्रम सञ्चालन 

Trulli
ADVERTISEMENT

गलकोट– बागलुङ नगरपालिकाले आफ्ना संस्थापक नगर प्रमुखका स्मृतिमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन र स्मृतिद्वार निर्माण गरेको छ । 

 

बागलुङ नगरको पहिलो जननिर्वाचित नगरप्रमुख  ऋषिराम शर्मा थिए ।  उनको अर्धकदको शालिक तथा  स्मृतिद्वार निर्माण गरेको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाले नगरका असहाय र विपन्नलाई सहयोग गर्नै उद्देश्यले ‘गरिबसँग ऋषिराम कार्यक्रम’ अन्तर्गत करिब रु एक करोडको  अक्षय कोष स्थापना गरेको छ ।

 

आर्थिक वर्ष २०७५/७६ को रु पाँच लाख र आर्थिक वर्ष २०७६/७७ मा विनियोजित रु छ लाख र स्थानीयको रु दुई लाख बराबरको श्रमदानमा गरी रु १३ लाखको लागतमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालका इन्जिनियर गौरव शर्माले जानकारी दिए । विसं २०५४ देखि ५९ सम्म जननिर्वाचित पहिलो नगरप्रमुख भएर शर्माले बागलुङ नगरवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको जनाउँदै उनको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४, कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको हो ।

 

‘नगरको संस्थागत विकासका लागि उनले अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो, उनले विकास निर्माण शुरुगरेको स्थानमै स्मृतिद्वार निर्माण गरिएको हो,’ नगरप्रमुख पौडेलले भने, ‘उनको बहुआयामिक योगदानको नगरले सधैँ स्मरण गर्न पाइयोस् भनेर उनले  नगरपालिकाको चक्रपथको सुरुआत गरेको स्थानमा नै स्मृतिद्वार निर्माण गरेका हौँ ।’

 

नौ योजना संशोधन

 

नगरपालिकाले नगरका नौ योजना संशोधन गरेर बजेट बाँडफाँड गरेको छ ।  नगरपालिकाको १०औँ नगरसभामार्फत नौं योजना संसोधन गरेर बजेट थपघट गरेको छ । 

 

नगरपालिकाले रु एक करोड ९८ लाखको बजेट संशोधनअन्तर्गत नौवटा योजनामा बजेट थपघट गरिएको छ । नगरपालिकाले विद्यालय कर्मचारीको तलब न्यूनतम १३ हजार पाँच सय पुर्‍याउनका लागि रु।५४ लाख बजेट थप गरिएको छ । कोरोना कोषमा रु ८६ लाख बजेट रहेकामा त्यसबाट रु ६० लाख घटाएर रु २६ लाख मात्रै राखिएको छ । खेलकुद तथा विविध कार्यक्रका लागि पाँच लाखमा दुई लाख बजेट थपी रु सात लाख बजेट व्यवस्था गरिएको छ । 

 

रेडक्रस सोसाइटीको सामग्री व्यवस्थापन अनुदानका लागि दुई लाख, विभिन्न पुरस्कार सम्मानका लागि रु.पाँच लाख, वीरेन्द्र ऐश्वर्य पार्क निर्माणका लागि रु.४० लाख बजेट थप गरिएको छ । नगरपालिकाले सवारी साधन खरिदका लागि विनीयोजन गरेको रु ७० लाखमा ५८ लाख घटाएर रु १२ लाख मात्रै राखिएको छ । एकीकृत शहरी विकास कार्यक्रमको बजेट आठ लाख रुपैयाँ घटाईएको छ । विपद व्यवस्थापन कोषमा रु ७४ लाख रुपैयाँ रहेकामा ३० लाख घटाएर ४४ लाख मात्रै राखिएको छ ।

 

नगरपालिकामा देखिएको रु १८ करोड ५९ लाख ७२ हजार बेरुजु नियमित गर्नेगरी लेखा समिति संयोजक कमल खड्काले प्रस्ताव गरेको प्रस्ताव पारित गरिएको छ ।  नगर सभामा नगर उपप्रमुख सुरेन्द्र खड्काले विभिन्न शीर्षकमा रहेको बजेट रकमान्तरण गर्ने बजेट संशोधन प्रस्ताव पेस गरेका थिए । नगरसभाबाट नगर प्रहरी ऐन संशोधन प्रस्ताव पारित गरिएको थियो ।