close

विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै इलाम

विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै इलाम

Trulli
ADVERTISEMENT

इलाम–नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व स्थानीय जनप्रतिनिधिकै काँधमा छ । भौगोलिक परिस्थितिका कारण नेपालमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ । विपद्का घटनाको लगत संकलन, राहत, पुनर्उत्थानजस्ता कार्यमा जनप्रतिनिधिको उपस्थितिले ठूलो अर्थ राख्छ ।

 

यही चुनौतीलाई चिर्दै अहिले इलापको इलाम नगरपालिकाले विपद्बाट जोगिने उपाय र पूर्वतयारीलाई प्राथमिकता दिएर वडैपिच्छे समिति बनाएर काम गरिरहेको छ ।

 

नेपाल भूकम्पीय जोखिमका दृष्टिले विश्वमा ११औँ स्थानमा र बाढीपहिरो दृष्टिकोणले ३०औँ अतिजोखिम मुलुकमा पर्छ । नेपालमा प्रत्येक वर्ष करिब ५०० भन्दा बढी प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटना घटने गरेको सरकारी तथ्यांक छ । कमजोर भू–धरातलीय बनोट, मौसमी विषमता, जलवायु परिवर्तन मुख्य कारण हुन् । इलाम नगरपालिका सौन्दर्यले जति निपुण भए पनि प्राकृतिक विपद् निम्त्याउने भूबनोट छ ।

 

त्यसैले बर्सेनि आगलागी, बाढीपहिरोको चपेटामा पर्ने गर्छ । यो अवस्थालाई अन्त्यका लागि नगरपालिकाले अहिले जोखिम न्यूनीकरण गर्न पूर्वसूचना, तयारी, राहत एवं उद्दार र पुनस्र्थापनाको नीति बनाएको छ । सेना र प्रहरीसँग मिलेर नगरबासीलाई जनचेतना दिने काम नगरपालिकाले गरेको छ ।

 

जनप्रतिनिधिले नै नागरिकलाई सम्भावित विपद्को पूर्वसूचना प्रवाह गर्दै आएका छन् । नगर प्रहरीलाई तयारी अवस्थामा राखिँदै आएको इलामका नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । 

 

सडक निर्माण गर्ने नाममा डोजर लगाउँदा कतिपय जमिन चर्किने र भत्किने गरेका छन् । भौगोलिक  अवस्था र माटो परीक्षणपछि मात्रै सडक निर्माण सुरु गराउने नीति जनप्रतिनिधिले अवलम्बन गरेका छन् । भूक्षय हुने ठाउँमा सडक बनाउन रोक लगाइएको छ भने विपद् व्यवस्थापन ऐन नै बनाएर विपद्विरुद्ध सचेत बनाउने काम नगरपालिकाले सञ्चालन गरिरहेको वडा नम्बर ४ का वडाध्यक्ष नूतनदेव दुलालको भनाइ छ ।

 

नगरमा एम्बुलेन्स र दमकललाई तयारी अवस्थामा राखिएको छ । यीबाहेक नगरपालिकाले विपद् न्यूनीकरणका लागि क्षेत्रगत नीति योजना र कार्यक्रमअनुरूप हुने गरी स्थानीय विपद् व्यवस्थापन योजना तर्जुमा, स्थानीय तहमा विपद् व्यवस्थापनसम्बन्धी बजेट विनियोजन, सबै पक्षको संलग्नता र समन्वयमा विपद् व्यवस्थापनसम्बन्धी कार्य, स्थानीय स्तरमा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण, विपद्को प्रतिकार्यका लागि वडा र समुदायमा विपद् पूर्वतयारी तथा प्रतिकार्य समिति गठन, विपद् व्यवस्थापनका लागि आपतकालीन नमुना अभ्यास, विपद् व्यवस्थापन सूचना प्रणली तथा पूर्वचेतावनी प्रणालीको विकास, स्थानीय तहमा आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरेको छ ।

 

नगरपालिकाको १२ वटा वडामा विपद् व्यवस्थापन समिति गठन गरेर विपद् निम्तिए तत्काल राहत तथा उद्दार गर्न सकिने अवस्था सिर्जना भएको वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ बताउँछन् ।

 

विपद्  व्यवस्थापनको प्रतिकार्यभन्दा पनि विपद् नै हुन नदिने अवस्था सिर्जना गर्ने गरी नगरपालिकाले काम गरेको छ । विपद् निम्तिएपछि पछुताउनुभन्दा हुनै नदिने गरी इलामले बनाएको नीतिले नागरिकको अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने देखिन्छ ।