close

अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी बाहिरिन लागेको थियो, झन्डै साढे २ किलो सुन

अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी बाहिरिन लागेको थियो, झन्डै साढे २ किलो सुन

Trulli
ADVERTISEMENT

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सुन तस्करी गर्ने गिरोह सक्रिय रहेको फेरि पुष्टि भएको छ ।

 

विमानस्थलमा सरसफाइको काम गर्नेहरूले सुन बाहिर ल्याउन सहयोग गर्ने दाबी विगतमा धेरै पटक गरिएको थियो । तर, विमानस्थल प्रहरीले बिहीबार राति दुबइबाट आएको हिमालयन एयरलाइन्सको विमान सफाइ गर्ने कर्मचारीबाट झन्डै २ किलो २ सय ३२ ग्राम सुन बरामद गरेसँगै यो आरोप पुष्टि भएको छ । प्रहरीले सोही तस्करीको आरोपमा ५ जनालाई पक्राउ समेत गरेको छ ।

 

त्रिभुवन विमानस्थल प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार बिहीबार राति दुबईबाट काठमाडौँ फर्किएको हिमालय एयरको विमानभित्र सरसफाइ गर्ने सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रा.लि. का कर्मचारीहरूलाई विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा चेक जाँच गर्दा उनीहरूबाट उक्त परिणाममा सुन बरामद गरिएको थियो । 

 

प्रहरीका अनुसार सरसफाइको ड्युटीमा खटिएका पाँचथर जिल्लाको याङवरक गाउँ पालिकाका २८ वर्षीय भीमकुमार माबोले विमानको शौचालयभित्र फोहरमा फालिएका सुनको बिस्कुटहरू बाहिर ल्याएर फोहोर जम्मा गर्ने स्थानमा राखेका थिए ।  

 

त्यसपछि उनीसँगै काम गर्ने नुवाकोटका २७ वर्षीय सुमन तामाङको सहयोगमा ती सुनका बिस्कुटहरू मनि पर्सभित्र लुकाएर विमानस्थलको फलामे गेट बाहिर निस्कने तयारी गरेका थिए । २० थान सुनका बिस्कुटलाई तोकिएको स्थानसम्म पुर्‍याउन माबो र तामाङलाई साथ दिन अन्य तीन जना विमानस्थल बाहिर खटेका थिए । जसमा सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रा.लि. का सुपरभाइजर ताराकान्त चौधरी समेत थिए ।

 

चेक जाँचका क्रममा माबोले पर्समा लुकाएको १० थान सुनको बिस्कुट बरामद भएको थियो । जसको अन्दाजी तौल १ हजार १ सय ६६ ग्राम थियो । त्यही मात्राको सुनको बजार भाउ अन्दाजी ९७ लाख ९६ हजार ७ सय ३२ रुपैयाँ रहेको प्रहरीको अनुमान छ । यस्तै तामाङको साथबाट बरामद गरिएको १० थान सुनको बिस्कुट अन्दाजी तौल र बजार मूल्य पनि माबोबाट बरामद भए बराबर छ ।  

 

सो तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका राजेश राई, दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिकाका ट्याक्सी चालक ४१ वर्षीय हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रा.लि.का सुपरभाइजर सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ३६  वर्षीय चौधरीलाई समेत पक्राउ गरेको थियो । 

 

थप अनुसन्धानका लागि अहिले उनीहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।