close

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा छुट

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा छुट

Trulli
ADVERTISEMENT

चितवन । नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरूलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो । 

सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरे। प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवाहरुमा २५ प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिने उल्लेख छ ।
 
सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरूका परिवार र अमर प्रहरीका परिवारलाई सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा उपलब्ध गराइने भएको छ ।

सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्दा हुने उपचारमा भने यो सम्झौता लागू हुनेछैन । 

यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताए । अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी)को टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने उनले जानकारी दिए । 

सङ्घका अध्यक्ष सिंहले सङ्घले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताइन् । उनले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने अपेक्षा गरिन् ।