close

हेम्जा अपडेट : ३०० घर डुबानमा

हेम्जा अपडेट : ३०० घर डुबानमा

Trulli
ADVERTISEMENT

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए । 

यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए । 

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताए ।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।