close

कर्णाली र सुदूरपश्चिम जोड्ने २ पुल निर्माण

कर्णाली र सुदूरपश्चिम जोड्ने २ पुल निर्माण

Trulli
ADVERTISEMENT

कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् । पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहज हुने जनाइएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन् ।

सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकाल घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जानकारी दिए । “पहिला डुङ्गाबाट तर्नुपर्थ्यो त्यसमा निकै असहज हुन्थ्यो । डुङ्गा तर्नुपर्दा दुईदेखि चार दिनसम्म कुर्नुपर्ने बाध्यता थियो”, उनी भन्छन्, “अहिले धेरै सहज भएको छ । यो बाटोमात्र नभई अछाम, दैलेख, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई तराईसँग जोड्ने माध्यम पनि हो ।”

यी बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन् । विगतमा यी बाटा भएर हिँड्ने नागरिकले निकै नै कष्टकररूपमा यात्रा गर्नुपर्थ्यो । कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो । पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले बताए । 

पश्चिम नेपालको तराई, पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीका रूपमा रहेका यी बाटा पहिलेदेखि नै चलनचल्तीका हुन् । इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै चिसापानी कुइने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद जानकारी दिए । 

अनक कन्ट्रक्शन रोशन जेभीले विसं २०७४ बाट निर्माण सुरु गरेको चिप्लेघाट पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको चौकुने गाउँपालिका–१० जोड्ने चिप्लेघाट पुल ६२ करोडको लागतमा निर्माण भएको हो । पाँच सय ५० मिटर लामो पुलको आठवटा स्पान रहेका छन् ।

अर्को पुल कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ जोड्ने कुइनेघाटमा निर्माण भएको छ । अनक लुम्बिनी जेभीले निर्माण गरेको यो पुलको पनि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तीनसय मिटर लामो मल्टी स्पान आर्क ब्रिज ३२ करोडको लागतमा निर्माण भएको हो । पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको र आउँदो दशैँभित्र पुलमाथि सवारीसाधन हिँडाउने तयारी भइरहेको पुल निर्माण कम्पनीका प्रबन्धक दिनेश श्रेष्ठ बताए ।