close

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

Trulli
ADVERTISEMENT

भोजपुर । पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलो पटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो । 

वडा नं ६ ठूलो दुम्माकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताइन् । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान भने धेरै सास्ती हुने गरेको उनको भनाइ छ । उनले भनिन्, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकी छु तर भत्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।”
 
बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उgले अनुभव सुनाइन् । गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलवासी भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन  यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

“गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ । ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या छ । यो कार्यलाई चौमासिकरुपमा सबै वडामा सञ्चालनमा ल्याएका छौँ । अब उहाँहरुले आफ्नो घर पायक पर्ने ठाउँबाट भत्ता पाउनु हुन्छ ।” गाउँपालिका अध्यक्ष राईले भने । 

हालसम्म गाउँपालिकाभरि एक हजार ४७१ जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उनको भनाइ छ ।