close

‘बल्ल स्थानीय सरकारको आभाष भयो’

‘बल्ल स्थानीय सरकारको आभाष भयो’

Trulli
ADVERTISEMENT

बागलुङ । भौगोलिकरूपमा विकटताका कारण परिवारका चार अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र बनाउन नपाएकी रायडाँडा निवासी २३ वर्षीया दुर्गा सापकोटाले घुम्ती शिविरमा परिवारका सदस्यको परिचयपत्र पाउँदा हर्षका आँसु नै खसालिन् । 

बावु, आमा र दुई भाइ गरी परिवारका चार जना अपाङ्गताको लालनपालन गर्दै आएकी उनले अर्थाभावकै कारण अपाङ्गता परिचयपत्र बनाउन सकेकी थिएनन् । 

“अहिलेसम्म अपाङ्गता परिचयपत्र बनाउन सकिएको थिएन, घरमा सडक पुगेको छैन, बोकाएर लैजान सम्भव भएन, सदरमुकाम लैजान खर्च थिएन”, उनले भनिन्, “वडा कार्यालयले अपाङ्गता परिचयपत्र बनाइदिने जनाउँदै शिविरमा बोलाएका कारण वडा कार्यालयमा आएका हौँ, अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधि उपचारमा सहयोग हुने छ, म अत्यन्तै खुसी छु ।” उनको चार जनामध्ये आमा सीताले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाइन् भने अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका बागलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिए ।

यस्तै उच्च रक्तचापको समस्या झेलिरहेकी बागलुङ –१० भकुण्डेस्थित ७० वर्षीया तुलसी विक गाउँमै चापाचापको कामले गर्दा जिल्ला सदरमुकाम औषधि खरिदका लागि जान भ्याएको थिएन । उनको औषधि सकिनै लागेको समयमा  नगरपालिकाले वडामै आयोजना गरेको घुम्ती शिविरमार्फत रक्तचापको औषधि दिएपछि उनले दङ्ग हुँदै उनले भनिन्, “बल्ल स्थानीय सरकारको आभाष भयो ।”

यस्तै, सामुदायिक भवन निर्माणका लागि रायडाँडाको शिविरमा योजना सम्झौता गर्न आएका यामबहादुर थापाले योजना सम्झौतासँगै शिविरमै बैंक खाता खोल्न पाउँदा खुशी भए । “नगरपालिकामा गएर योजना सम्झौता र बैंक खाता खोल्दा गत वर्ष दुई दिन लागेको थियो, सदरमुकाम आउजाउ गर्दा उस्तै खर्च भयो, बैंकमा खाता खोल्दा दुई घण्टा लाइन बस्नुपरेको थियो”, उनले भने, “अहिले वडामै एकै दिनमा योजना सम्झौतासँगै बैंक खातासमेत खोल्न पाइयो, हामी नगरपालिका जान्थ्यौँ आज नगरपालिका हामीकहाँ आएको रहेछ, बल्ल सङ्घीयता आएजस्तो लाग्यो ।”

शिविरमै नगरपालिकाले सम्बन्धित बैंकका कर्मचारीलाई समेत लगेकाले शिविर निकै प्रभावकारी बनेको थियो । बागलुङ नगरपालिकाको रायडाँडा र भकुण्डेका नागरिकलाई योजना सम्झौता गर्न, माटो परीक्षण गर्न र स्वास्थ्य सेवाका लागि समस्या भइरहेको सन्दर्भमा गाउँमै माटो परीक्षण, स्वास्थ्य शिविरमार्फत चिकित्सकद्वारा स्वास्थ्य सेवा लिन नागरिक दङ्ग देखिन्थे । शिविरमा पाठेघरको समस्या लिएर आउनेको सङ्ख्यासमेत उल्लेख्य पाइएको छ ।

यस्तै रायडाँडाका शेरबहादुर थापाका ठूली छोरी यामुना थापा र सानी छोरी रेनुका थापा बौद्धिक अपाङ्गता छन् । उनीहरूको अपाङ्गता परिचयपत्र नवीकरणका लागि सवारीसाधन ‘रिजर्भ’ नै गरेर सदरमुकामस्थित नगरपालिका पुग्नुपर्ने थियो । तर गाउँमै आयोजना गरिएको शिविरमार्फत अपाङ्गता परिचयपत्र प्राप्त गर्दा सहज भएको बताए । “वडा कार्यालयबाट सबै सेवा नपाइने सदरमुकाम जान खर्चैखर्च लाग्ने अवस्था थियो, अहिले गाउँमै परिचयपत्र नवीकरण गर्न पाइयो, दुई छोरीको स्वास्थ्य परीक्षणसमेत गर्न पाइयो”, शेरबहादुरले भने, “वडाबाटै नगरपालिकाको सेवा पाउँदा सहज भयो, आगामी दिनमा समेत यस्तै सेवा पाउन पाए हुन्थ्यो ।”

आइतबार र सोमबार रायडाँडा र भकुण्डेमा सञ्चालित शिविरमा झण्डै ६०० सेवाग्राहीले लाभ उठाएको बागलुङ नगर उपप्रमुख राजु खड्काले बताए । 

घुम्ती सेवा शिविरबाट भकुण्डेका ३६१ र रायडाँडाका ३२५ नागरिक विभिन्न सेवामार्फत लाभान्वित भएका छन् ।  दुईदिने शिविरमा चालु आवका २४ योजना सम्झौतासँगै बैंक खाता खोलिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । 

शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट दुई दिनमा २९५ लाभान्वित भएका छन् । जसमध्ये  महिलाको पाठेघर जाँच र उपचार, पाठेघर खसेको समाधान,  यौनजन्य रोगको उपचार तथा परीक्षण र परिवार नियोजना सेवा लिएका थिए । यस्तै दुई सय आठ जनाको मधुमेह सेवा परीक्षण गरिएको छ । शिविरबाट अधिकांश उच्च रक्तचाप र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिए ।  

यस्तै नयाँ र पुराना गरी ५८ जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । दुई वडामा २१ स्थानको माटोको नमूना परीक्षण गरिएको थियो । 

शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ८० जनालाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । यस्तै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचक पूरा गर्नका लागि दुईवटै वडामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।