close

७ किमी सडक ७ वर्षमा पनि कालोपत्र भएन !

७ किमी सडक ७ वर्षमा पनि कालोपत्र भएन !

Trulli
प्रतिकात्मक
ADVERTISEMENT

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । 
 
काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्छन् । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाए । आर्थिक वर्ष ०७५/०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन ।

केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौं उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् । 

सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् ।

कालोपत्र गर्न ग्राभेल थुपारेको ६ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन । हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ । अन्य स्थानमा पनि केही काम बाँकी छ । हाल तीन महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ । वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन । वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ ।
  
    सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन् । स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउनुहुन्छ । धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उहाँले सुनाउनुभयो । 

    पछिल्लो समयमा सडक बिस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताउनुभयो । सात वर्षदेखि बिस्तार पूरा हुन नसकेको समाचार सङ्कलनका लाग सम्पर्क गर्दा निर्माण व्यवसायी एवं सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन् ।