close

फलाम पिटेर जीवन निर्वाह गर्छन्, ७० वर्षीय जोगे कामी

फलाम पिटेर जीवन निर्वाह गर्छन्, ७० वर्षीय जोगे कामी

Trulli
ADVERTISEMENT

धनगढी । धनगढीको मुख्य बजारबाट एक किलोमिटरको दूरीमा रहेको पुरानो एयरपोर्ट शिविर जाने गल्ली छेउमै एक झुपडी छ । 

उखरमाउलो गर्मी होस् या वर्षातको झरी जुन समयमा पनि त्यहीँ झुपडीमा भेटिन्छन्, ७० वर्षीया जोगे कामी । 

उमेरले ७० कटे पनि उनी फलाम पिटेरै (फलामका औजार बनाएर) आफ्नो परिवारको गुजारा गरिरहेका छन् । उनले यो पेसा अंगालेको पाँच दशक बितेको छ । त्योभन्दा पहिले उनीको परिवारले खलो मागेर गुजारा चलाइरहेको थियो । 

‘मागेर खानुभन्दा बेस लागेर उनले फलाम पिट्ने पेसा अँगाले,’उनले भने । उमेरमा यही व्यवसायबाट उनले घर खर्च चलाएर केही रकम बचाउँथे । तर, अचेल त उनलाई छाक टार्नै समस्या भइरहेको छ । 

‘७० वर्षको भइसके यही फलाम पिटेरै गुजरा चलाएको छु । अरू काम गर्न सक्दिनँ । यही काम गरेर बुढाबुढीलाई चारो भइरहेको छ’, झुप्रोमा फलाम पिट्दै गरेका जोगे कामले भने, ‘चाडपर्वहरू आउँदै छन्, कमाई जमाइ केही छैन, कसरी गुजारा चलाउने होला ? छोराले पनि हेर्दैनन्, यस्तै छ जिन्दगी अहिलेसम्म कसैले बुढो मान्छे भनेर सहयोग पनि गरेका छैनन्, सकुन्जेलसम्म काम गरेर खान्छु, बाँकी जे होला होला ।’ 

जोगेका पाँच जना छोरा छन् । तर, उनीहरूले कर्तव्य निर्वाह नगर्दा उनलाई साँझ बिहानको हातमुख जोड्न समस्या भएको छ । ७० वर्षको उमेरमा पनि पसिना बगाइरहेका छन् जोगे कामी । फलाम पिट्ने व्यवसायमा जोगेलाई उनकी श्रीमती बिर्मा कामीले पनि सघाउँदै आएकी छिन् ।

फलाम पिट्न एक्लै सम्भव हुँदैन । जोगे फलाम पिटेर नयाँ औजार बनाउँछन्, भने उनकी श्रीमती बिर्माले आरा चलाउने, कोइला हाल्ने निकाल्ने, र फलाम तताउने गर्छिन् ।

नजिकै आउँदै गरेको दशैँतिहारको जोहो गर्नका लागि फलामका सामग्री बनाउने कार्यमा श्रीमानलाई सघाउँदै आएको बिर्माले बताइन् । ‘चाडपर्वहरू आउँदै छन् । के खाने के लगाउने, छोराहरू छुट्टिएर गएका छन् । आफ्नो बनाउँछन् खान्छन् । हामी पनि आफ्नो गुजारा चलाउन मरिमेटेका छौँ । छोराहरूले हेर्दैनन् । के भन्नु उनीहरू मजदुरी गर्छन् दिनको पाँच सय रुपियाँले कमाउँछन् । क—कसलाई हेरुन् श्रीमती, छोरा—छोरी छन्’, उनले भनिन्, ‘आरन पेसा उसै पनि आगोको रापसँग खेल्नु पर्ने हुन्छ ।’ 

पुरानो एयरपोर्ट छेउमा रहेको उनको झुप्रो पत्ताले छाएको छ । के कल्पना गर्नु उनीहरूलाई खान बस्नै समस्या छ । ‘आगोको राफले झरिरहेका तपतप् पसिना पुछ्दै’, जोगेले भने, ‘ग्राहक नै आउँदैनन्, दिनभरि कुरेर बसिरहन्छौँ, कहिले काहीँ त ग्राहक नहुँदा साँझबिहानकै छाक टार्न समस्या हुन्छ, जसो त्यसो गाँस र बास त भइरहेको छ । न हामीले बचत गर्न सकेका छौँ नत चाडपर्वमा मिठोमसिनोनै खान सकेका छौँ । हाम्रा लागि चाडपर्व नआइदिए हुन्थ्यो ।’ 

फलाम पिट्ने उनीहरूका सपना धेरै ठुला छैनन्, मात्र छाक टार्न र आनन्दले सुत्न सक्ने अवस्था भए पुग्छ । तर उनीहरूलाई त्यो पनि निकै धौ-धौ छ । लामो समयदेखि आरन पेसा अपनाएका कामी दम्पतीलाई जीवन निर्वाह गर्न पनि निकै समस्या हुने गरेको छ ।