close

रिक्साचालकको दुखेसो : प्रविधिले बेरोजगार बनायो

रिक्साचालकको दुखेसो : प्रविधिले बेरोजगार बनायो

Trulli
ADVERTISEMENT

धनगढी । कैलाली र कञ्चनपुरको सीमा क्षेत्र डोकेबजारका जयराम चौधरी दैनिकजसो बिहान ६ बजे पाइडल रिक्सा चलाएर धनगढी बजार पुग्छन् ।

विगत १६ वर्षदेखि पाइडल रिक्सा चलाइरहेका उनी सवारी भेटिए सवारी र नभए मालसामान ओहोरदोहोर गरेर साँझ घर फर्किन्छन् ।तर, दिनभर कमाएको रकमले आवश्यक अत्यावश्यक बस्तु खरिद गरेर लैजान पुग्दैन । उनी भन्छन्, ‘कहिले २/४ सय हुन्छ कहिले त रित्तो रिक्सा बोकेर घर फर्किनुपर्छ ।’

पहिले दैनिक २/४ सय बचत गर्ने गरेको स्मरण गर्दै अहिले आम्दानी शून्य भएको बताए । 

उनी भन्छन्, ‘मैले यो रिक्सा चलाउन थालेको १५/१६ वर्ष भयो पाँच वर्ष अघिसम्म राम्रै आम्दानी हुन्थ्यो दैनिक तीन/चार सय बचत गर्न सकिन्थ्यो । तर, अहिले अटोरिक्सा आएपछि आम्दानी शून्य छ ।’

तर, आफ्नै रिक्सा भएकाले केही सहज भएको उनले बताए । 

‘अरूको रिक्सा चलाउनुपरेको भए मैले पहिले नै छाडिदिन्थे । तर, आफ्नै रिक्सा हो । अरू आम्दानीको स्रोत नभएकाले जबरजस्ती चलाइरहेको छु । यसैबाट घरखर्च चलाउने गरेको छु, अरू कमाइ केही पनि छैन,’ उनले भने । 

उनी प्रतिनिधि पात्र हुन् । प्रविधिको विकाससँगै उनीजस्तै अरू पाइडल रिक्सा चालकको अवस्था उस्तै छ । ठुलो संंख्यामा विद्युतीय इ–रिक्सा र अटोरिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा विस्थापित हुन थालेका छन् ।

विद्युतीय इ–रिक्सा र अटोरिक्सा सञ्चालनमा आएपछि वर्षौंदेखि सञ्चालनमा रहेका पाइडल रिक्सालाई अहिले यात्रु पाउन हम्मेहम्मे पर्ने गरेको गुनासो गर्छन्, धनगढीका पाइडल रिक्सा चालक सिताराम चौधरी ।

धनगढी बजारमा ३० वर्षदेखि रिक्सा चलाइरहेका चौधरीले रिक्सा नचलाउने निर्णय गरिसकेका छन् । 

पर्याप्त यात्रु नपाउँदा चौधरीको आम्दानी घटेको छ । घटेको आम्दानीले नौ जनाको परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल छ । चौधरी भन्छन्, ‘दुई/चार वर्ष अगाडिसम्म रिक्साको कमाइ राम्रै थियो ।’

तर, जब धनगढीमा नगरबस अटोरिक्सा चल्न थाले चौधरीको कमाइ घट्दै गयो । यात्रु सजिलो र छिटो सवारीसाधन खोज्दै नगरबस र अटोरिक्सा चढ्न थाले ।

नगरबस र अटोरिक्सा आउनुअगाडि दैनिक एक हजार रुपैयाँसम्म कमाउथे चौधरी । तर, अहिले मुस्किलले दिनमा दुईदेखि तीन सय रुपैयाँ कमाउँछन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीका गङ्गाराम चौधरी पनि पाइडल रिक्सा नै चलाउँछ ।

गङ्गारामले रिक्सा चलाउन थालेको १५ वर्ष भयो । बिहान सबेरै रिक्सा लिएर धनगढी बजार निस्किएका उनी साँझ अबेर मात्रै घर फर्कन्छन् । तर, उनलाई घरपरिवार चलाउन धौ–धौ छ । 

पाइडल रिक्सा चढ्ने यात्रु कम हुँदा आफ्नो आम्दानी घटेको उनी बताउँछन् । 

‘सात जनाको परिवार छ । सबै परिवार ममाथि नै निर्भर छन् । दिनभर यात्रुको पर्खाइमा बस्छु । तर, यात्रु भेटिँदैनन्,’ उनी भन्छन्, ‘ मेरो दैनिकी यसरी नै चलेको छ ।’ प्रविधिको विकाससँगै उनको रोजीरोटीको बाटो खोसिएको छ । 

धनगढी बजारमा अहिले पाइडल रिक्सा मुस्किलले भेटिन्छन् । इ–रिक्सा र अटोरिक्सा आएपछि धेरैजसोले पाइडल रिक्सा चढ्न छाडे । इ–रिक्सा र अटोरिक्सा किने ।

तर, सिताराम र गङ्गारामले आर्थिक अभावका पाँच लाख पर्ने कारण इ–रिक्सा, अटोरिक्सा किन्न सकेनन् । ‘त्यत्रो पैसा कहाँबाट ल्याउनु’ सिताराम सुनाउँछन्, ‘त्यति पैसा भए त म अरू नै काम गर्थेँ ।’

समय फेरियो । अवस्था फेरियो । तर, ३० वर्षसम्म रिक्सा चलाए पनि आफ्नो जीवन नफेरिएको गुनासो गर्छन् गङ्गाराम, ‘सक्नेले अटोरिक्सा किने, मैले सकिनँ ।’

इ–रिक्सा र अटोरिक्सा भित्रिएपछि परम्परागत पाइडल मात्रै विस्थापित भएनन् । इ–रिक्सा र अटोरिक्सा किन्ने नसक्नेहरूको आयआर्जन सुक्यो । जसका कारण उनीहरू पेसाबाटै विस्थापित हुन बाध्य भए । 

रिक्सा चलाएरै छोरा र छोरीको स्कुल फिसदेखि घर खर्चसमेत व्यवस्थापन गर्दै आएका गङ्गारामले यात्रु पाउन छाडेपछि मजदुरीको काम सुरु गरेका छन् ।

‘यात्रु नपाएपछि आजभोलि कहिलेकाहीँ सिमेन्ट बोक्न जान्छु,’ गंगारामले भने, ‘इ–रिक्सा र अटोरिक्साले हाम्रो रोजीरोटी खोस्यो । हातमुख जोड्नै मुस्किल हुँदैछ ।’ पाइडल रिक्सा चलाइरहेका कैलाली गोदावरीका ललिराम थारू पनि अब पाइडल रिक्सा थन्काएर गाउँमा मजदुरी गर्न जाने सोच बनाएको सुनाउँछन् ।

आफ्नो पाइडल रिक्सा चलाउनेलाई भन्दा अर्काको पाइडल रिक्सा चलाउनेलाई झन् गाह्रो छ । किनभने रिक्सा मालिकलाई दैनिक पैसा बुझाउनुपर्छ ।

‘कुनै दिन त रिक्साको भाडा तिर्ने पैसासमेत उठ्दैन,’ ललिराम थारू भन्छन्, ‘इ–रिक्सा र अटोरिक्सा किन्नसक्ने आर्थिक क्षमता नभएकै कारण पेसा फेर्ने निर्णय गरेको गरेको छु ।’

केही वर्ष पहिले कैलालीमा मात्रै ३ हजार जति पाइडल रिक्सा थिए । तर, अहिले मुस्किलले दुई सयजति बाँकी छन् । यता यातायात व्यवस्था कार्यालय कैलालीको तथ्याङ्कअनुसार अहिले कैलालीमा आठ हजार बढी इ–रिक्सा दर्ता भएका छन् ।