close

पोल-पोलमा ठेकेदार हराएको सूचना : निर्माण कार्य अलपत्र

पोल-पोलमा ठेकेदार हराएको सूचना : निर्माण कार्य अलपत्र

Trulli
ADVERTISEMENT

म्याग्दी । ठेकेदार हराएको भन्दै अनेरास्ववियू र राष्ट्रिय युवा संघले पोल र भित्तामा सुचना टाँस गरेपछि अहिले बेनीका सामाजिक सञ्जाल तातिएका छन् । बेनी नगरपालिकामा ५० शय्याको निर्माणाधीन बेनी अस्पतालको भवन बनिसक्नुपर्ने समयमा आधा पनि काम पनि नसकिएको भन्दै सूचना टाँस गरेका हुन् । 

जिल्ला अस्पतालसमेत रहेको बेनी अस्पताल वि.सं २०७२ मा निर्माणको लागि नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रविसिंह श्रेष्ठले ठेक्का लिएका थिए । ‘पाँच वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म आधा काम पनि पूरा भएको छैन ।’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पालिका खबरसँग भने ।

चैतदेखि अस्पताल निर्माणको काम रोकिएको उनले बताए । ‘शहरी डिभिजन कार्यालय बाग्लुङबाट ठेक्का लगाइएको हो । यस विषयमा डिभिजन कार्यालयमा सम्पर्क गर्दा हामीले जति भने पनि काम गर्नुहुन्न भन्ने प्रतिकृया आउँछ ।’ हरेक हप्ता टेलिफोनबाट अस्पताल निर्माणको लागि डिभिजन कार्यालयलाई दबाब दिइरहेको नगरप्रमुख केसी बताउँछन् ।

नगरपालिकाका जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका प्रतिनिधिलगायतलाई साथमा लिएर आफै शहरी डिभिजन कार्यालयामा दबाब दिन पटक-पटक पुगेको उनी बताउँछन् । ‘डिभिजन कार्यालयका हाकिमले ठेकेदार 'पहुँचवाला' भन्दै एक्सन लिनबाट पन्छिए । उनी निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत हुन्’, उनले भने । 

आफैले डिविजन कार्यालयमा दबाब दिँदा समेत केही फाइदा नभएको नगरप्रमुख केसीले बताए । २०७२ सालमा १५ शय्याको अस्पतालको ५० शय्यामा स्तरोन्नति हुने गरी नयाँ भवन निर्माण थालिएको थियो । तर, हालसम्म अस्पतालको भवन नबन्दा बिरामीहरू टहरामा बस्न बाध्य बनेको मेयर केसी बताउँछन् ।