close

आइतबार पनि निलम्बित प्रधानन्यायाधीशको बयान

आइतबार पनि निलम्बित प्रधानन्यायाधीशको बयान

Trulli
ADVERTISEMENT

काठमाडौं । महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ । 

समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको  सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए । आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने उनले बताए। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ । 

जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ । तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन् । समितिको अहिले जम्मा तिन वटा मात्रै बैठक बसेको छ ।

जबराविरुद्ध  गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका देव गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेको जबराविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो ।​ त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति बनाएका थिए ।

उक्त समितिमा मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकवाल मियाँ सदस्य रहेका छन् ।