close

५० रुपैयाँमा पेटभरि खाना, गरिबलाई राहत

५० रुपैयाँमा पेटभरि खाना, गरिबलाई राहत

Trulli
ADVERTISEMENT

वीरगञ्ज । वीरगन्जमा ५० रुपैयाँमै पेटभरि खाना खुवाउने सेवामूलक होटल सञ्चालनमा आएको एक वर्ष भएको छ । विसं २०७८ साउन ३१ देखि एक गैरसरकारी संस्था ‘सानो पाइला’को सहयोगमा भरपेट भोजनालय नामक होटल सञ्चालन गरिएको हो ।  

पचास रुपैयाँ तिरेर भात ,दाल , तरकारी र अचार भरपेट खान सकिने भएपछि वीरगन्ज सहरमा दिनहँ श्रम गरेर जीविकोपार्जन गर्दै आएका कामदार तथा अध्ययनका लागि बाहिरबाट आएर बसेका विद्यार्थीलाई धेरै राहत मिलेको छ । 
वीरगञ्जस्थित मुर्लीको मुख्य सडकमै रहेको एउटा भवन भाडामा लिएर भोजनालय सञ्चालन गरिएको छ । स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले भोजनालय सुरु गरिएको संस्थाका सदस्य जय साहले बताए । 

यहाँ  दैनिक करिब ३५० जना खाना खान आउने गर्दछन् । वर्ष दिनमा भोजनालयको आम्दानी कुल ३८ लाख नौ हजार आठ सय १६ रुपैयाँ रहेको र खर्च ५९ लाख छ हजार नौ सय ६२ रुपैयाँ भएको संस्थाले जनाएको छ । भोजनालय सञ्चालन गर्दा कुल २० लाख ९७ हजार एक सय ४६ रुपैयाँ घाटामा भए पनि यसलाई नियमित सञ्चालनमा ल्याइने संस्थापक झाले बताए । उनका अनुसार ५० रुपैयाँमा विक्री हुँदै आएको खाना बनाउन प्रतिप्लेट नै ७७.५५ रुपैयाँ पर्ने गरेको छ ।

बिहान र बेलुकीको छाक टार्न यहाँ साँझ बिहान रिक्साचालक, ठेलाचालक, दैनिक ज्यालादारीमा काम गर्ने, श्रमजिवी मजदूर तथा विद्यार्थीहरुको निकै भिड नै लाग्ने गर्दछ । बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिने उद्देश्यले भोजनालय सञ्चालन गरिएको छ ।