close

३ दिनपछि बल्ल बल्यो चिम

३ दिनपछि बल्ल बल्यो चिम

Trulli
ADVERTISEMENT

गुल्मी । गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पुर्‍याएपछि जिल्लामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । 

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रको सहयोग एवं रेसुङ्गा नगरपालिका र स्थानीय प्रशासनको पहलमा गएरातिदेखि विद्युत् पूर्ण रुपमा सञ्चालनमा आएको रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । 

पहिराले ट्रान्सफर्मरमा क्षति पुगेपछि गुल्मीको रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इस्मा गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव तथा मालारानी गाउँपालिकामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । 

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको थियो । पहिराले नेपाल टेलिकमको अप्टिकल फाइबरसमेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्यान्डलाइन टेलिफोन सेवा अझै अवरुद्ध छन् ।