close

८ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

८ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको ८ वर्ष भयो ।  निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

पुल निर्माण अलपत्र अवस्थामा छ ।  बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ ।  निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन । 

पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताए । उनले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गरे । 

उनले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरुको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताए । पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उहाँले चेतावनी दिए ।

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र २२० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।

त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपथ्र्यो। तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ।