close

शहरी क्षेत्रको जनसंख्या ५ प्रतिशतले बढ्यो

शहरी क्षेत्रको जनसंख्या ५ प्रतिशतले बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । 

जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए । २०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो । 

संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् ।

यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ । सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसंख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसको अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो । संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट)को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो ।

नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ । अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोबास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ । 

दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ । कार्यक्रममा विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, इञ्जिनीयरिङ अध्ययन संस्थान, काठमााडौं र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । दिगो र वतावरण मैत्री शहरी विकासमा जोड दिँदै विश्व बसोवास दिवसका कार्यक्रम गरिने भएको छ ।