close

नेपाल संवत् ११४३ सुरु : राष्ट्रपतिले व्यक्त गरिन् शुभकामना

नेपाल संवत् ११४३ सुरु : राष्ट्रपतिले व्यक्त गरिन् शुभकामना

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत‍्को सुरुवात परेका हुन् । 

नेपाल संवत् प्रारम्भ भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । 

उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवत्‌को पहिलो दिन कातिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने बताएकी छन् । 

राष्ट्रपति भण्डारीले नेपाली समाज सभ्य र सहिष्णु समाज भएको र हाम्रा चाडपर्व तथा यस खालका असल परम्पराले थप सुदृढ बनाउँदै लगेको उल्लेख गरेकी छन् । 

उनले राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । 

राष्ट्रपति भण्डारीले नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनः शुभकामना व्यक्त गरेकी छन् ।

यस दिनलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा भव्यताका साथ मनाउने गरिन्छ ।