close

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्याउन निर्देशन

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्याउन निर्देशन

Trulli
ADVERTISEMENT

चितवन। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो । 

भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताए। उनले बालगृह सञ्चालकलाई मापदण्ड पुर्याएर मात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराए। ‘कुनै पनि बालगृह बिनामापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन’, उनले भने, ‘समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्छु ।’

कुनै पनि समय संस्थाको अनुगमनमा आफूहरू आउन सक्ने भन्दै उनले त्यतिबेला मापदण्डअनुसार सञ्चालन गरेको नपाइए कडा कारबाही हुने बताए। बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, स्वास्थ्य परीक्षणलगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सञ्चालनमा रहेका सबै बालगृहमा निरन्तर अनुगमनको खाँचो रहेको प्रष्ट पारे। ‘हामीले बालगृहहरूको निरन्तर अनुगमन गरिरहेका छौँ, छड्के अनुगमन गर्दा कमी–कमजोरी पाइएमा कामकारबाही हुन्छ’, अधिकृत रानाले भने।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगरभित्र अहिले २३ वटा बालगृह सञ्चालनमा रहेको बताइन्। पौडेलका अनुसार २३ वटा बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ रहेको छ ।
 
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार काठमाडौँपछि भरतपुरमा सबैभन्दा बढी बालगृह सञ्चालनमा छन् । परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले चितवनका बालगृह उत्कृष्ट श्रेणीमा पर्ने गरेको बताइन्। चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहको अनुगमन तथा रेखदेख गरिरहेको जानकारी दिए। यसअघि गत असारमा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहको अनुगमन तथा निरीक्षण गरेको थियो।