close

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

Trulli
ADVERTISEMENT

चितवन– आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् । 

माध्यमिक शिक्षा अध्ययन गरेका ५३ प्रतिशत, अशिक्षितले ५९ प्रतिशत र आधारभूत शिक्षा लिएका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । आर्थिक हिसाबले उच्च आय भएकाले ४४ प्रतिशत र न्यून आय भएकाले ६४ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने मध्यम वर्गका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । यसैगरी प्रदेशअनुसार सुदूरपश्चिममा छ महिनासम्म पूर्ण स्तनपान गराउने ७४ प्रतिशत छन् भने लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्रतिशत मात्रै छन् । सो अनुसार  सहरी क्षेत्रका पूर्ण स्तनपान गराउने आमाहरुको सङ्ख्या कम छ ।
 
महाशाखाको तथ्याङ्कमा नेपालमा २२ प्रतिशतले दूधदानीबाट दूध खुवाउने गरेकामा बागमती प्रदेशमा ४३ प्रतिशतले दूधदानी प्रयोग गर्छन् भने कर्णालीमा ११ प्रतिशतले मात्रै । यसरी दूधधानीबाट दूध खुवाउनेमा उच्च शिक्षित ४९ प्रतिशत छन् भने अशिक्षित १२ प्रतिशत मात्रै छन् । यसमा न्यूनआय भएका ११ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४६ प्रतिशत छन् ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा ओम पाठक सहरीया, धनी र उच्च आर्थिक अवस्था भएकाहरुमा  स्तनपान गराउनेको सङ्ख्या कम भएको बताए । बाल स्वास्थ्यका लागि आमाको दूध अमृतसरह हुने भन्दै उनी अन्य विकल्पको खोजी गर्नुभन्दा आमाको दूध नै खुवाउनुपर्नेमा जोड दिन्छन् ।
 
सहरमा आमाले सामाजिक सञ्जालको पहुँचका कारण स्तनपानबाट हुने फाइदाभन्दा नकारात्मक विषयलाई भ्रमको रुपमा लिएर कतिपय आमाले स्तनपान नगराउने गरेको डा पाठकको भनाइ छ ।   पूर्णरूपमा आमाको दूध खाने बच्चाको दिमाख तीक्ष्ण हुने र आमा तथा बच्चाको ममता स्तनपानबाटै बढ्नेमा उनी जोड दिन्छन् ।
 
बच्चाले स्तनपान गरेमा मात्रै आमामा दूध आउने गर्दछ । स्तनपान नियमित गराएर आमाको दूध बढाउनुपर्ने हुन्छ । आमामा नकारात्मक चिन्तनको विकास भएमा दूधमा कमी आउने डा पाठक बताउँछन् । उनी भन्छन्, ‘आमा तनावमुक्त हुनुपर्छ ।’ सहरका आमाले शिशुलाई छोडेर काममा जानुपर्ने भएकाले पनि स्तनपानमा कमी आउँछ यद्यपि आमाले  निचोरेर पनि  दूध खुवाउन सकिने उनको सुझाव छ । कोठाको तापक्रममासमेत आमाको दूध छ घण्टा राख्न सकिने भन्दै उनी फ्रिजमा तापक्रम मिलाएर २४ घण्टासम्म राख्न सकिने सुझाव दिन्छन् ।
 
बजारमा आमाको दूधको सट्टामा विभिन्न खालका खाना आउने भए पनि आमाको दूधमा पाइने पोषण अहिलेसम्म कहीँ नबनेको डा पाठकको भनाइ छ । आमाको पूर्णस्तनपान गरेका बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुन्छ ।

 चितवन मेडिकल कलेजका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा वसन्त शर्मा बच्चालाई नियमित स्तनपान गराउँदा आमाको स्तन बिग्रिने वा खराबी नआउने बताउँछन् ।  स्तनपान गराउँदैमा स्तन बिग्रिन्छ भन्ने कतै नलेखिएको उल्लेख गर्दै उनी भन्छन्, ‘स्तनपान नगराउने आमाहरुलाई, क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम हुन्छ ।’
 
स्तनपानले आमा र बच्चाबीच सामिप्यता बढ्ने उल्लेख गर्दै डा शर्मा भन्छन्, ‘एक दिनभरिमा स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ । सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ ।’ नियमित स्तनपान गराउँदा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगको जोखिम कम भएर जाने उनी बताउँछन् । अनुसन्धानले स्तनपान नगराउनेको तुलनामा नियमित गराउनेमा नसर्ने रोगको जोखिम कम देखिएको उनको भनाइ छ ।
 
स्तनपानले आमालाई क्यान्सर रोगको जोखिम घटाउन सहयोग पुर्याउँछ । डा शर्मा थप्छन् ‘मुख्यगरी स्तन क्यान्सर र डिम्बासयको क्यान्सरको जोखिम कम हुन्छ ।’ स्तनपानले परिवारिक खर्चपनि कम हुने बताउँदै उनले आमाको दूध नखुवाई बाहिरबाट दूध, ल्याक्टोजिनजस्ता वस्तु खरिदले झन आर्थिक भार बढ्ने उल्लेख गरे ।
 
सम्बद्ध चिकित्सकका अनुसार सामान्यतया दिउँसो दुई दुई घण्टामा स्तनपान गराउनु राम्रो र  रातिको समयमा पनि दुई पटक स्तनपान गराउँदा राम्रो हुन्छ । पहिलो छ महिनासम्म अनिवार्यरुपमा त्यसपछिको दुई वर्षसम्म स्तनपान गराउँदा राम्रो हुने सुझाव चिकित्सकहरुले दिएका छन् ।