close

साफ महिला फुटबल : उद्घाटन खेलमा नेपाल ४-० ले विजयी

साफ महिला फुटबल : उद्घाटन खेलमा नेपाल ४-० ले विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले 'साफ महिला च्याम्पियनसिप फुटबल'मा विजयी शुरुआत गरेको छ । मंगरबार साँझ भएको पहिलो खेलमा नेपालले भुटानलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध ४–० को जित निकालेको हो । नेपालको जितमा सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले २/२ गोल गरे ।

सावित्राले खेलको १२ औं र ६७ औं मिनेटमा गोल गर‍िन् । खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् । त्यसपछि ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को जित दिलाइन् ।

जितसँगै नेपालले पहिलो ३ अंक जोडेको छ । साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह 'ए'मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।

समूह चरणको खेलपछि दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल असोज ३ गते हुनेछ ।