close

प्रमुख ११ काे टाेली ६:१ काे अन्तरले पराजित

प्रमुख ११ काे टाेली ६:१ काे अन्तरले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । सोमबार बिहानै दशरथ रंगशालामा काठमाडौं महानगरपालिकाका  प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल भएको खेलमा  ६:१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जितेको छ।

महानगर दिवसको अवसरमा आयोजना गरेको मैत्रिपूर्ण खेलमा फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका दुईवटा टिम आपसमा भिडेका हुन्। एउटा टिमको नेतृत्व मेयर बालेन्द्र साह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा चाहीँ महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । 

नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । बालेनले मध्यक्रमबाट खेलेका थिए । महानगरकी उपप्रमुख सुनिता डंगोलले खेल मैदान बाहिरै बसेर प्रमुख ११ टिमको पक्षमा हुटिङ गरिन् । 

यो फुटबल भिडन्त नियमसंगत तरिकाले खेलाइएको भने देखिएन । दुवै टिमका गरी ५० जना भन्दा बढी खेलाडी मैदानमा छिरेका थिए । महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष यस्तो मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।