close

सरकारले जग्गा दिएमा महानगरले रंगशाला बनाउँछ– बालेन

सरकारले जग्गा दिएमा महानगरले रंगशाला बनाउँछ– बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले सरकारले जग्गा उपलब्ध गराइदिएमा आफूहरुले रंगशाला निर्माणको लागि पहल गर्ने जनाएका छन् । नगरप्रमुख शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै सरकारले आवश्यक जग्गा उपलब्ध गराइदिएमा रंगशालाको निर्माणका लागि महानगरले पहल गर्ने जनाएका हुन् । 

सोमबार एसियाली कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको प्रतिस्प्रर्धा हेर्नका लागि नगरप्रमुख शाह श्रीलंका पुगेका थिए । श्रीलंकामा पुगेका उनले त्यहाँको रंगशाला नेपालको भन्दा केही सुविधासम्पन्न र स्तरीय रहेको पाइएको बताएका छन् । 

‘नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ । गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहीँ स्तरको रंगशाला जग्गा बाहेक ८०/९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’

उनले सोही रंगशालामा केही ठुला खेलहरु भएमा नेपालमा खेलको विकाससँगै करोडौँ रकम आर्जन हुन सक्ने अनुमान लगाएका छन् । खेल क्षेत्रको विकासको लागि महानगरले पहल गरिसकेकाे जनाउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो बाहेक खेलाडी र तल्लोतहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट  राख्ने प्रबन्ध पहिले नै गरिसकेको छौँ ।’ 

उनका अनुसार श्रीलंकामा साेमबार आयोजित खेल हेर्नका लागि करिब २ हजार नेपाली र ५० जना भारतीय क्रिकेट समर्थक स्टेडियममा देखिएका थिए । खेल हेर्न गएका नेपालीले मात्रै करिब ३० करोड रुपैयाँ श्रीलंकामा खर्च गरेको उनको अनुमान छ । नेपाली समर्थक देखेर श्रीलंकाको अध्यागमनको कर्मचारीसमेत चकित परेको उनले जनाएका छन् । ‘श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो, यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन्?’ उनी लेख्छन् ।