close

नेपालको शानदार जीत

Trulli
ADVERTISEMENT

काठमाडौं- त्रिकोणात्मक टि-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो । 

नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । नेपालले हङकङलाई जितका लागि २१४ रनको लक्ष्य दिएको थियो । 

जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा १३४ रनमा मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे । 

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कुशलले ४१ बलमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए । त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । 

त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए । हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक–एक विकेट लिए ।