close

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

Trulli
ADVERTISEMENT

काठमाडौँ- चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् । 

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् । 

११४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । 

बलिङतर्फ नेपालकी अश्मिना कर्माचार्यले चार, सङ्गिता राईले तीन तथा पूजा महतो दुई विकेट लिइन् । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।