close

कागेश्वरीमा राखिँदै विश्वकै ठूलो कागको मूर्ति

कागेश्वरीमा राखिँदै विश्वकै ठूलो कागको मूर्ति

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले वडा-  १ मा  विश्वको सबैभन्दा ठूलो कागको मूर्ति प्रतिस्थापनको तयारी गरेको छ । आउँदो काग तिहारका दिन सो मूर्ति प्रतिस्थापन गर्न तयारी रहेको बाग्मती  प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले जानकारी दिए । 


विश्वकै ठूलो कागको मूर्ति अष्टधातुबाट बनाउन लागिएको हो । सो मूर्ति बनाउन स्थानीयसँग कवाट संकलन गरिएको थियो । मूर्ति प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । मन्त्री फुयालले भने, ‘कागकै प्रतिमाका कारण अब कागेश्वरीलाई विश्वले चिन्नेछ ।’ 


सांसद विकास कोषबाट पाँच लाख र नेपाल सरकारले पाँच लाख रुपैयाँ सहयोग दिएर ‘काग स्तम्भ’ बनाइँदै छ । स्थानीयबाट संकलित कवाड सामानबाट १४ सय किलो काग बनाइनेछ ।


कागेश्वरी मनोहरा नगरपालिका वडा- १ का वडा अध्यक्ष मुकुन्दप्रसाद गजुरेलका अनुसार बन्दै गरेको कागको प्रतिमा १६ सय किलोको विश्वकै ठूलो हुनेछ । प्रतिमा पाटन औद्योगिक क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेकाले काग तिहार अवसरमा कागेश्वरीको डाँडामा राख्ने तयारी छ ।

 

स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले महादेवको सो ३४औँ ज्योतिर्ङ्ग पनि भनिने किंवदन्तीमा उल्लेख छ । गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै कागेश्वरी मेलामा चढाउने प्रचलन छ ।

 
काठमाडौंको उत्तरपूर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा रहेको कागेश्वरी महादेवको मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाए कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । 


धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण सो मन्दिरको संरक्षणका लागि कागेश्वरीधाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान सुरु गरिएको छ । समग्र कागेश्वरीको एकीकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनमार्फत स्थानीयको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको छ ।