close

पर्यटकको पर्खाइमा चीनको सीमाका होमस्टे

पर्यटकको पर्खाइमा चीनको सीमाका होमस्टे

Trulli
ADVERTISEMENT

दोलखा - कोराना संक्रमितको संख्या बढ्दै गए पनि आन्तरिक पर्यटकका लागि दोलखाको बिगु गाउँपालिकाको लामाबगर र गुम्बाडाँडा बस्तीमा घरबास (होमस्टे) निर्माण गरिएको छ ।

  
एकान्त सुन्दर गन्तव्य खोजीमा रहेका आन्तरिक पर्यटकको व्यवस्थापनका लागि चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको लामाबगरमा घरबास बनाउन गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले  सर्वसाधारणलाई सहयोग गरेको हो । 

 

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको दोलखाको बिगु गाउँपालिका-१ मा  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अध्ययन, अनुगमन र अवलोकन गर्न आउने हाइड्रो-पर्यटनलाई व्यवस्थित गर्न जिक्यापले कोभिड– १९ को समयमा पनि १० घरबास बनाएको छ ।

 

२ स्थानमा निर्माण भएका घरबासका लागि २ लाख बराबरको सहयोग  गरेको गौरीशंकर  संरक्षण क्षेत्र आयोजनाका लेखापाल सहायक शरद पौड्यालले बताए । 


 
‘गौरीशंकर  संरक्षण क्षेत्र आयोजनाले दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा विगतका वर्षमा ६२ घरबास निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा गर्दै आएको छ । कोभिड– १९ का कारण बाह्य नआए पनि आन्तरिक पर्यटक आइरहेका छन । उनीहरूलाई खान बस्नको राम्रो व्यवस्था छ’, पौड्यालले भने । 

 

लामाबरदेखि सिमीगाउँ, च्योरोल्पा तथा रोल्वालिङ क्षेत्रमा जाने आन्तरिक पर्यटकको  गौरीशंकर  संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा धेरै फोन आएपछि उनीहरूकै व्यवस्थापनका लागि तत्काललाई १० घरबास निर्माण गरिएको प्रशासन सहायक दुर्गा खड्का सुनाउँछन् ।

 

संरक्षण क्षेत्र आयोजनाले प्रतिघर २० हजार बराबरको सिरक, डसना, तकिया, सिरानी, चप्पल, डोरम्याट, डस्टबिन, तौलिया, ह्यांगर, ऐना, रजिस्टर, एस्ट्रे, कार्पेटलगायतका सामग्री वितरण गरेको प्राकृतिक स्रो संरक्षण आयोजनाका सहायक करण यादवले जानकारी दिए ।