close

त्रिनेत्रेश्वर धामलाई धार्मिक पर्यटन केन्द्र बनाउँदै बर्दघाट

त्रिनेत्रेश्वर धामलाई धार्मिक पर्यटन केन्द्र बनाउँदै बर्दघाट

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - नवलपरासी बर्दघाट नगरपालिकाको वडा-७ जिमिरेभारस्थित त्रिनेत्रेश्वर धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । त्रिनेत्रेश्वर धाममा श्रद्धालु भक्तजनलाई आउजाउ सहज बनाउन पूर्वाधार निर्माणमा सहयोग गरेको हो । त्रिनेत्रधाम अध्यात्म चिन्तन केन्द्रको पहलमा ०६९ मा स्थापित भएको हो । 


‘सुरुमा यस क्षेत्र पुग्न निकै अप्ठेरो थियो’, केन्द्रका केन्द्रीय अध्यक्ष नवराज श्रेष्ठ भन्छन्, ‘अहिले केही काम भएका छन्, हुँदैन । नगरपालिका र स्थानीयको सहयोगले यहाँ आन्तरिक धार्मिक पर्यटनको विकास भइरहेको छ । अब गुठी बनाउने तयारीमा छाैं ।’

 

त्रिनेत्रेश्वरधाममा दैनिक पूजाआजा हुने गर्दछ । शिवरात्रि र साउनाभर धाममा घुइँचो लाग्ने गर्छ । धाम परिसरमा १५ कोठे ज्येष्ठ नागरिक आश्रम निर्माण हुँदै छ । भवनको एकतला पूरा भइसकेको छ ।
आश्रमका लागि बर्दघाट नगरपालिकाको समन्वय र सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।


धाममा ज्येष्ठ नागरिक आश्रम बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ प्राप्त भएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।  ‘धामको विकासमा ध्यान दिइरहेका छौं’, नगरप्रमुख बस्याल भन्छन्, ‘नगरले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरिरहेको छ ।’

 

धार्मिक ऐतिहासिक एंव सांस्कृतिक क्षेत्रको विकासमा नगरपालिका लागिपरेको नगर प्रमुख बस्याल दाबी गर्छन् । धाम जाने बाटोघाटो नगरपालिकाले बनाएको कारण सहज हुँदै गएको उनको भनाइ छ । 

 

संघीय मन्त्रालयबाट प्राप्त रकमको थप १० प्रतिशत नगरपालिकाले लगानी गर्ने नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए । ‘नगरपालिकाको २ लाख ५० हजार लगानी त्यहाँ थप हुन्छ’, काफ्लेले भने, ‘यस्तो सहयोग रकम अहिलेसम्म साढे २७ लाख ५० हजार पुग्यो ।’


भवनकै तल्लो तलामा ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालन भइरहेको धामका कार्यवाहक अध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् ।  बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका न्यौपाने भन्छन्, ‘पछिल्लो समय धाममा जाने आन्तरिक धार्मिक पर्यटक पनि बढेका छन् । कोरोनाको कारण केही असहज भए पनि यसको पूर्वाधार निर्माणलाई गति दिएका छौं ।’


धाममा बिहान योग शिविर सञ्चालन हुन्छ । ज्येष्ठ नागरिक बेलाबेला धार्मिक, सांस्कृतिक कार्यक्रम गर्ने गरेका छन् । तर, कोरोनाको कारण अहिले भने यस्ता कार्यक्रम बन्द गरिएको न्यौपाने बताउँछन् । ‘आफ्ना बाआमा तथा ज्येष्ठ नागरिकलाई रेखदेख नगर्ने युवा पुस्तालाई यहाँ परामर्श दिन्छौं,’ न्यौपाने भन्छन् ।

 

धाममा पुजारीसहित दुई जनाको दरबन्दी  छ । बर्दघाट-७ का वडाध्यक्ष धु्रव थारु धामप्रति युवा पुस्ताको आर्कषण बढाउन कार्यक्रम ल्याउनुपर्नेमा जोड दिन्छन् । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको पहलमा बर्दघाट-१४ को चौपत्तामा रामजानकी धामभित्र वैष्णोदेवी मन्दिर बनेको छ ।


नगरभित्र विभिन्न धर्म तथा समुदायको आस्थाका केन्द्र तथा धार्मिक पर्यटकीय क्षेत्र छन् । यी सबैको समविकासका लागि एकीकृत गुरुयोजना आवश्यक रहेको थारुको बुझाइ छ ।