close

२ लाख कमाउने गुँरासे भ्युटावर (भिडियो खबर)

२ लाख कमाउने गुँरासे भ्युटावर (भिडियो खबर)

ADVERTISEMENT

दैलेख- दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्युटावर । बीच भागमा, कृतिम आकृतिको गुराँसको रुख छ । अनि त्यसैमा युवा मख्ख पर्दै पालैपालो फोटो खिच्दैछन् । कसले सोचेको थियो होला र ? कुनै समय खाना खान केहीबेर अडिने दैलेखको गुराँस गाउँपालिकामा अहिले मनोरम दृष्य हेर्न पनि पर्यटक आउँछन् भनेर । तर, गाउँपालिकाले भ्युटावर बनाउँदा र अलिकति युवावर्गलाई लक्षित गर्दै भ्युटावर वरपर केही संरचना बनाउँदा पर्यटकको उपस्थिति अहिले खचाखच छ ।

 

भ्युटावरबाट र यहाँबाट बर्दियासम्मको दृष्यावलोकन गर्न सकिन्छ । मनै लोभ्याउने यो ठाउँ त्यसमाथि पनि बेलाबेला हुस्सु लाग्दा प्रकृति प्रेमीका लागि अरु के चाहियो र ? कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय दैलेखले ३४ लाख २० हजारमा भ्यू टावर निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएको हो । तर, त्यसलाई व्यवस्थित गर्नुपर्ने स्थानीयको माग छ ।

 

भ्यूटावर प्रवेश शुल्क प्रतिव्यक्ति २५ रुपैयाँ तोकिएको छ भने मासिक २ लाखसम्म आम्दानी हुँदै आएको छ । यसरी संकलन गरिएको रकमले थप पूर्वाधार निर्माण गरिने स्थानीय वन समितिका पदाधिकारी बताउँछन् ।


पछिल्लो समय पर्यटक आकर्षित गर्नका लागि केही पृथक गर्नुपर्ने रहेछ भन्ने धेरैले बुझ्दै आएका छन् । पर्यटक तान्न भ्युटावर मात्र नभई फोटो खिच्नकै लागि पनि आजकल युवाको उपस्थिति बढ्दै गएको छ । तर, त्यसलाई भने सही ढंगले व्यवस्थापन गर्न गाउँपालिकाले थप योजना बनाउन आवश्यक छ ।