close

प्राकृतिक झरना गुमनाम (भिडियो खबर)

प्राकृतिक झरना गुमनाम (भिडियो खबर)

ADVERTISEMENT

डडेल्धुरा- पछिल्लो समय प्राकृतिक सौन्दर्यको रसपान गर्ने मानिसको संख्या बढ्दै गएको छ । कामको व्यस्तताबाट मिलेको फुर्सदलाई यस्तै सौन्दर्यमा आफूलाई भुलाउने पनि धेरै छन् । अझ, झरना, कलकल बग्ने खोलाले त मानिसलाई लालायित नगर्ने कुुरै भएन ।

 

केही समयअघि  तीनधारे झरना हेर्नेको भीड नै लाग्थ्यो । अत्यधिक घुइँचो हुन थालेपछि त्यहाँ पर्यटकीय गन्तव्य बनाउन सुरु गरियो । डडेल्धुरामा रहेको यस्तै झरना गुमनाम छ । न कसैको संरक्षण, न रेखदेख, न त झरना आझेल पर्दा कसैको चासो गएको छैन ।

 

डडेल्धुरा सदरमुकाम नजिकैको अमरगढी नगरपालिका वडा नम्बर ९ मा एउटै खोलामा रहेका २ वटा झरना गुमनाम छन् । सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको क्षेउडी खोलामा हजारौँ वर्ष पुराना बन्डलेक्षउडी झरना र लडेक्षउडी झरना संरक्षण अभावमा उचाई घट्दै गइरहेको छ भने प्रचार-प्रसार नहुँदा गुमनाम बन्दै गएका छन् । 

 

बाह्रै महिना पानी हुने हजारौँ वर्ष पुराना दुवै झरनाको संरक्षण हुन नसकेको अमरगढी नगरपालिकाका स्थानीय केशव ओझा बताउँछन् ।

 

सामान्य ठाउँमा समेत पर्यटक पुग्ने गरेको वर्तमान समय हजारौँ वर्ष पुराना झरनामा भने कोही पनि नपुग्ने गरेको स्थानीय बताउँछन् । अहिले दुइटै ठाउँमा रहेका झरनाको उचाइ घटेको र झरना भएको ठाउँमा रहेका तालसमेत पुरिँदै गएको स्थानीय चक्र रोकायाको गुनासो छ  ।

 

पहिले झरना निकै लामो रहेको र तालसमेत ठूलो क्षेत्रफलमा फैलिएको थियो । हजारौँ वर्ष पुराना झरना र तालको संरक्षण गरी स्थानीय सरकारले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने र त्यसका लागि सहकार्य गर्न तत्पर रहेको स्थानीय ताराप्रसाद जोशी सुनाउँछन् ।

 

अमरगढी नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि आएदेखि नगर क्षेत्रभित्रका पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी संरक्षण र संर्वद्धनका कार्यक्रम अगाडि बढाएको जनाएको छ । नगरपालिकाले प्राकृतिक झरनाको संरक्षण र प्रचार–प्रसारका लागिसमेत योजनाबद्ध रूपमा कार्यक्रम तय गरेको अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए ।

 

प्राकृतिक सौन्दर्यसँगै निश्चल पानी बग्ने दुइटै झरनाको संरक्षण र संवद्र्धनका साथै झरनासम्म पुग्ने बाटो बनाउन जरुरी छ ।