close

लयमा फर्किन थाल्यो बन्दीपुरका होटल व्यवसाय

लयमा फर्किन थाल्यो बन्दीपुरका होटल व्यवसाय

Trulli
ADVERTISEMENT

दमौली– कोभिड–१९ पछि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पहिलोपटक विदेशी पर्यटकको आगमन सुरुआत भएको छ । कोरोना त्रासका कारण विगत करिब दुई वर्षदेखि विदेशी पर्यटक आगमन शून्य रहेको बन्दीपुरमा बुधबार ६० विदेशी पर्यटक आइपुगेका हुन् ।

 

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले विदेशी पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको जानकारी दिए । ‘कोरोना त्रासपछि आन्तरिक पर्यटक आइरहेकामा विदेशी पर्यटक शून्य थिए, अब विदेशी पर्यटकको पनि आगमन हुनेमा आशावादी छौँ’, उनले भने । 

 

दसैँको सुरुआतसँगै बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल पनि बाक्लिएको छ । कोरोना त्रास न्यूनीकरण हुँदै जनजीवन सामान्य भएपछि बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । ‘दसैँका बेला बन्दीपुरमा राम्रै सङ्ख्यामा पर्यटक भित्रिए, तिहारमा पनि पर्यटकको आगमन बढ्नेमा विश्वस्त छौँ’,  होटल व्यवसायी प्रधानले भने, ‘विस्तारै पर्यटकीय गतिविधि बढेपछि व्यवसायीलाई पनि आशा जगाएको छ ।’

 

चिसो मौसम सुरु भएसँगै बन्दीपुरबाट हिमालका मनोरम दृश्य देखिन थालेको छ । हिमाल खुलेको बेला यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छ । सबैले कोभिडविरुद्ध खोप लगाएकाले पनि अहिले घुमफिरमा निस्कनेको सङ्ख्या बढिरहेको छ । ‘बन्दीपुरका ७० प्रतिशतभन्दा बढी व्यवसायीले खोप लगाइसके, सर्वसाधारणले पनि खोप लगाइरहेका छन्’, उनले भने, ‘खोपले पनि हामीलाई ढुक्क बनाएको छ ।’

 

होटल व्यवसायी वसन्त पौडेलले कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटन विस्तारै तङ्ग्रिने अवस्थामा रहेको बताए । पर्यटकको चहलपहल सुरु भएसँगै व्यवसायीमा पनि आशा जागेको उनको भनाइ छ । बन्दीपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रीनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।

 

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

 

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । अठारौँं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।

 

पर्यटक स्वागत गर्न आतुर छन् पदमार्गका होमस्टे 


 शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रे्क (सहश्र्राब्दी मार्ग) विगत दुई वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना त्रासका कारण दुई वर्षदेखि सुनसान रहेको हो ।

 

कोरोना कहर न्यूनीकरण हुँदै जनजीवन सामान्य बनेपनि यो पदमार्गमा भने पर्यटकको चहलपहल बढ्न सकेको छैन । हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने यहाँ पर्यटक आउन सकेका छैनन् । पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको पदमार्गका घरबास (होमस्टे) सञ्चालक पर्यटक बाटो कुरिरहेका छन् । यस पदमार्गअन्तर्गत १७ गाउँमा घरबास सञ्चालन गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएकाले अब यहाँ पर्यटक आउने आशा गरिएको शुक्लागण्डकी नगरपालिका–१२ घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । 

 

‘पहिला–पहिला पदयात्रामा पर्यटक आइरहन्थे, दुई वर्षदेखि पर्यटक आउन सकेनन्’, उनले भने, ‘अब त कोरोना पनि विस्तारै कम हुँदै गयो, पर्यटक आउनेमा आशावादी छौँ ।’ आर्थिकस्तर उकास्ने उद्देश्यसहित सञ्चालन गरिएको होमस्टेमा पर्यटक नआउँदा आम्दानीको स्रोत पनि बन्द भएको उनको गुनासो छ । 

 

कोरोना त्रास सामान्य बनेकाले पदमार्गले पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । ‘पछिल्लो समय अन्य पर्यटकीय गन्तव्यमा चहलपहल बढेपनि यहाँ भने पर्यटकको आगमन हुन सकेको छैन’, उनले भने, ‘पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसारको तयारीमा छौँ  ।’