close

पाल्पा दरबार संग्रहालयमा ओइरिँदै पर्यटक

पाल्पा दरबार संग्रहालयमा ओइरिँदै पर्यटक

Trulli
ADVERTISEMENT

पाल्पा–पाल्पाको तानसेन नगरपालिकामा रहेको पाल्पा दरबार संग्रहालय पर्यटकको आकर्षणमा परेको छ । संग्रहालयको प्रदर्शनी कक्षमा राखिएका संस्कृति झल्कने विभिन्न सामग्री अवलोकनका लागि पर्यटक आउने क्रम बढेको हो ।

 


पाल्पा दरबार १८ माघ ०६२ मा तत्कालीन नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत यो दरबार संग्रहालयका रूपमा सञ्चालनमा छ ।


क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि ३ मंसिर ०७२ मा पाल्पा दरबारलाई संग्रहालयका रूपमा स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । संग्रहालयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यको रूपमा विकास भएको तानसेनका स्थानीय दिवाकर अर्यालले बताए । 

 


१५ फागुन ०७३ मा दरबार संग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा ०७० मा पुरानै शैलीमा पाल्पा दरबार पुनर्निर्माण सम्पन्न गरिएको थियो । 


क्षतिग्रस्त हुनुअघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायत संरचना थिए ।

 

पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ देखि १९८९ सम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा थियो । 


बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले ०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । पाल्पा दरबार संग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार संग्रहालयमा देश तथा विदेशबाट पर्यटक अवलोकन गर्न आउने गरेको बताए ।

 

पहिला निकै पर्यटक आउने गरेकामा अहिले कोरोना संक्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उनको भनाइ छ । ऐतिहासिक पाल्पा दरबार संग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारु, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् ।


माथिल्लो तल्लामा नेपाल–अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाक राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपास क्षेत्रका तस्बिर राखिएको छ । राणाकालीन समय पाल्पा राजनीतिक तथा प्रशासनिक केन्द्रसमेत थियो ।