close

पर्यटन क्षेत्र उकास्न रणनीति बन्दै

पर्यटन क्षेत्र उकास्न रणनीति बन्दै

Trulli
ADVERTISEMENT

काठमाडौं–कोरोना महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारी एवं निजी क्षेत्रले पहल थालेका छन् । पर्यटन मन्त्रालयले विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ ।

 

समितिले अहिलेसम्म गरेका प्रयासबारे जानकारी गराएको छ । पर्यटकलाई होटलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकलाई छुट दिने निर्णय गरेको जानकारी मन्त्रालयलाई दिएको छ ।

 


विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिन पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिले आन्तरिक वायुसेवा कम्पनीलाई आग्रह गरिसकेको छ । बुद्ध एयर र यती एयरलाइन्सले छुट दिने प्रतिबद्धतासहित सूचना जारी गरेका छन् ।

 


पर्यटन उद्योगको पुनरुत्थान, नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रमा लगानी वातावरण तयार गरी रोजगारी सिर्जनाका लागि सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत परामर्श र सल्लाह सुझाव उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेम आलेको अध्यक्षतामा २ माघमा निर्देशक समिति गठन भएको हो ।

 

मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमण घट्दो क्रममा रहेको अवस्थालाई लक्षित गरी मन्त्रिपरिषद्बाट जारी विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न सीसीएमसीसीलाई सिफारिस गरिएको छ । 

 

निर्देशक समितिले सिफारिस गरेको नीतिगत सुझावबमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समिति गठन गरिएको छ । समितिको २४ माघको निर्णयअनुसार पर्यटन उद्योगसम्बन्धी सात विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाव लिन मधेस, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको प्रदेश प्रतिनिधिसमेत तोक्ने निर्णय गरेको छ ।

 

आउँदो ३० दिनभित्र पर्यटन क्षेत्रका सरोकारवाल समावेश गरी बृहत् अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरिनेछ । अन्तरक्रियाबाट प्राप्त सुझाव समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिनेछ ।