close

तरकारी खेतीमय दत्तु, एक सय परिवार व्यावसायिक तरकारी खेतीमा आवद्ध हुँदै

तरकारी खेतीमय दत्तु, एक सय परिवार व्यावसायिक तरकारी खेतीमा आवद्ध हुँदै

Trulli
ADVERTISEMENT

दार्चुला - १५ वर्षअघिसम्म महाकाली नगरपालिका-९ दत्तु थाप्लाका विक्रमसिंह सामन्त जिल्लाकै अगुवा तरकारी कृषक थिए । व्यावसायिक रूपमा गाउँमा तरकारी खेती गरेरै जीविका चलाउनेमा उनको नाम अग्रपंक्तिमा थियो । 


उनले लगाएको तरकारी हेर्न जिल्लामा आउने अधिकांश कार्यालय प्रमुख सडक संजालले नजोडिएको थाप्ला गाउँ पुग्ने गर्थे । दत्तुबाट थाप्ला पुग्न एक घण्टा उकालो चढ्नुपर्छ । अन्य व्यक्तिले तरकारीमा भविष्य देखेका थिएनन् । त्यही भएर सामन्तले एसएलसी दिएलगत्तै तरकारी खेती सुरु गरेर तरकारी फलाएर जीविका गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखाए । 


त्यतिबेला एक्लो तरकारी व्यवसाय गर्दै आएका सामन्त अहिले भने एक्लो कृषक छैनन् । उनकै गाउँमा अधिकांशले तरकारी खेती लगाउन थालेका छन् । महाकाली नगरपालिका- ९ को पूरै क्षेत्रमा तरकारी खेती विस्तार गर्ने गरी मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागू भएपछि गाउँभर तरकारी लगाउने चलन ह्वात्तै बढेको छ । थाप्लामा मात्र २५ भन्दा बढी परिवारले व्यावसायिक तरकारी खेती गर्न थालेका छन् ।


गत वर्षदेखि दत्तुमा मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागू भएको हो । ‘यस कार्यक्रमबाट चालू आर्थिक वर्षभित्र १०० परिवारलाई व्यावसायिक तरकारी खेतीमा आवद्ध गराउने योजना छ’, मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम समितिका अध्यक्ष जगतसिह चैसिरले भने, ‘पूरै वडाको हरेक घरधुरीमा तरकारी खेती गरिन्छ ।’


पहिलो वर्ष १८ वटा टनेलमा सामूहिक तरकारी खेती र ३० घरधुरीमा एक-एकवटा टनेलमार्फत तरकारी खेती गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ३५ लाख रुपैयाँ लगानीबाट दत्तुमा तरकारी खेती गरिएको हो ।


‘पहिलो वर्ष कोभिडका कारण टनेलसमेत राम्ररी राख्न पाइएन’, समितिका अध्यक्ष चैसिरले भने, ‘सामान ल्याउनै समस्या भयो । माटो परीक्षण नगराएरै खेती गरिँदा सोचेअनुसार उत्पादन बढ्न सकेन । माटो सुहाउँदो भएन कि जस्तो लाग्छ ।’ 


चैसिरले पनि १० वर्षदेखि गाउँमै व्यक्तिगत रूपमा तरकारी खेती गरेका छन् तर यहाँ टनेलमार्फत लगाउँदा पनि उत्पादन बढेको छैन ।


दत्तुमा लगाइएको तरकारी खेतीको अनुगमन गर्न पुगेका सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले पनि तरकारी फस्टाउन नसकेकोप्रति चासो राखिन् । नमुना कृषि गाउँका लागि प्राविधिक जनशक्ति पनि खटाइएको छ । तरकारी उत्पादन राम्रो नहुनुको कारणबारे परीक्षण गर्न उनले निर्देशन गरेकी छन् । 


किसानलाई सबै कुरा जानकारी नहुने र यसका लागि प्राविधिक जनशक्तिले हेरिदिनुपर्ने अवस्था छ । उनले कृषि ज्ञान केन्द्र दार्चुलालाई यस क्षेत्रको माटोको प्राविधिक जाँच गर्न निर्देशन पनि गरेकी छन् ।


किसानले पनि यस वर्ष कोभिड र हावाहुरीका कारण टनेल च्यातिएको, पानी पुग्न नसकेकोलगायतका गुनासो पोखेका छन् । यस्तै, अहिले पनि थाप्लाबाट सडकसम्म तरकारी ढुवानी गर्न महँगो पर्ने गरेको भन्दै ढुवानीमा अनुदानको व्यवस्था गरिदिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । 


थाप्लाबाट सडकसम्म ढुवानी गरेकै साढे चार रुपैयाँ प्रतिकिलो ढुवानी भाडा लाग्छ । सडक नहुँदा थाप्ला क्षेत्रमा उत्पादन भएको तरकारी महँगो पर्ने गरेको छ । अहिले गाउँका अधिकांशले तरकारी खेती गर्न थालेका छन् तर बजार अभाव र स्टोरको व्यवस्थापन हुन नसक्दा किसानले सास्ती झेल्नुपरेको छ ।

 

बजार व्यवस्थापन, संकलन केन्द्र र सिँचाइको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको किसानले बताएका छन् । ‘हामीलाई समय समयमा तालिम, प्रविधि हस्तान्तरण जस्ता कुरा आवश्यक हुन्छ’, सामन्तले भने । 


कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले किसानहरूको समस्या समाधानका लागि अब सहज हुने बताए ।