close

महालक्ष्मीको योजनाः कृषकलाई गाईवस्तु दुहुने आधुनिक यन्त्र

महालक्ष्मीको योजनाः कृषकलाई गाईवस्तु दुहुने आधुनिक यन्त्र

Trulli
ADVERTISEMENT

ललितपुर– महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई को हितमा पशुजन्य सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका वास्तविक किसानलाई ध्यानमा राखेर पचास प्रतिशत अनुदानमा प्रोत्साहन स्वरुप ती सामग्री वितरण गर्न लागेको हो ।
 

नगरपालिकाभित्र पशुपालन गरिरहेका किसानको जीवनस्तर उकास्न सातवटा मिल्किङ मेसिन अर्थात पशु दुहुने यन्त्र वितरण गरिनेछ  । यसमा तीन थान प्रविधिले दुईवटा पशु एकैपटक दुहुन मिल्छ भने चार थान प्रविधिले एउटा मात्र पशु दुहुन मिल्छ ।


यस्तै ४० लिटर दुध अट्ने १२ वटा मिल्क क्यान अर्थात दुध हाल्ने भाँडो, घाँस र पराल दुवै काट्न मिल्ने १४ थान मोटर सहितको च्याफकटर र गाईलाई ओच्छाउने काउम्याट ८० थान वितरण गर्ने योजना रहेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।

 
दुध दुहुने एउटा यन्त्रको बजार मूल्य एक लाख १० हजार रुपैयाँदेखि एक लाख ५५ हजारसम्म छ । न्यून आयस्तर भएका किसानको अवस्थालाई मूल्याङ्कन गरेर आल्मुनियमको मिल्क क्यान, घाँस र पराल काट्ने च्याफकटर अनि गाईलाई किसानले चिसो र फोहरबाट जोगाउन भनेर काउम्याट वितरण गर्न अग्रसर भइरहेको नगरपालिकाका पशु शाखा प्रमुख चिकित्सक दिपक भट्टराइले जानकारी दिए ।


उनका अनुसार मंसिर पहिलो साताबाट निवेदन लिइने उनले बताए । पशुपालन गरिरहेका कृषकले लालपुर्जा, नागरिकता, करारनामा पत्रको फोटोकपी र सम्बन्धित वडाको सिफारिस पेश गरेपछि नगरले दिने सुविधा पाउनेछन् ।


 
महालक्ष्मीले आफ्ना नगरक्षेत्रमा कृषि तथा पशुपालन गरिरहेका किसानलाई यस्ता सामग्री वितरण गरेर देशभरका किसानको कार्यलाई सम्मान गर्न खोजेको बताएको छ  । नगरले किसानलाई बाख्रा, गाई र भैँसी पालन तालिम, बर्खे घाँस वितरण, कृत्रिम गर्भाधान, नश्ल सुधार, पशुका लागि घरदैलो घुम्ती सेवा, खोप कार्यक्रम, भ्यागुते र खोरेत रोगआदिको उपचार सेवा दिदै आइरहेको नगरपालिकाले जनाएको छ ।