close

गोकुलगंगामा किबी फलाउनेलाई ८० प्रतिशत अनुदान

गोकुलगंगामा किबी फलाउनेलाई ८० प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले किसानलाई किबी र ओखरका बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका कृषि फार्म र किबी खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा ३ हजार किबी र १ हजार ओखरका बिरुवा वितरण गरिएको हो ।

 

गोकुलगंगामा व्यावसायिक किबी खेती गर्ने किसानलाई कृषि फार्ममार्फत र सीधै किबी र ओखरका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए । अध्यक्ष सुनुवारले भने, ‘पालिकाको वडा नम्बर ३ रस्नालुलाई किबी पकेट क्षेत्रका रूपमा विकास गरेका छौँ । अरू सबै वडामा किबी खेती लगाउन यो आर्थिक वर्षमा करिब २ सय किसान लाभन्वित हुने गरी बिरुवा वितरण गरेका छौँ ।’

 

८० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएपछि किसान किबी खेतीमा आकर्षित हुनुका साथै आर्थिक रूपमा समेत सहयोग पुग्ने उनले बताए । गाउँपालिकाले विगत वर्षदेखि नै किबी खेतीमा किसानलाई सहयोग गर्दै आएकाले यो वर्ष पालिकाभरि करिब २० टन किबी उत्पादन भएको अध्यक्ष सुनुवारको भनाइ छ । 

 

कृषि र पशुपालन गरी गाउँपालिकामा १८ वटा पकेट क्षेत्र बनाएको गाउँपालिकाले पशुपालनमा चौँरी, माछा, बाख्रा, बंगुर, गाई, कुखुरापालन र कृषिमा आलु खेती, किबी खेती, सिमी खेती, केरा खेती, अर्गेली खेती, स्याउ खेती, जडीबुटीलगायतलाई पकेट क्षेत्रमा विकास गरेर किसानको आयआर्जन बढाउन सघाउँदै आएको छ ।