close

बालीकाे अमेरिकन फौजी कुखुराकाे चाराे !

बालीकाे अमेरिकन फौजी कुखुराकाे चाराे !

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ च्यास्मीटार दाल्फुका स्थानीयले मकै बालीमा लागेको अमेरिकन फौजी किरा नियन्त्रणका लागि घरेलु उपाय अपनाएका छन् ।

 

गोडमेल गर्ने बेला भएको र कतिपय गोडमेल गरिसकेको मकैको बोटमा महामारीमा रूपमा फैलिएको फौजी किरा नियन्त्रणका लागि स्थानीयले किटनाशक विषादीको प्रयोगभन्दा घरेलु विधि अवलम्बन गर्न थालेका हुन् ।

 

फौजी किरा नियन्त्रणका लागि दाल्फुका धेरैजसो किसानले हरेक मकैको बोटमा भएको किरा टिपेर मार्ने गरेको स्थानीय केसीराज राईले बताए । मकै बारीमा विषादी छर्नुको सट्टा किसान मकैको बोटमा लुकेर बसेका फौजी किरा संकलन गर्दै मारेर नियन्त्रणको प्रयासमा जुटेका हुन् ।

 

फौजी किरा नियन्त्रणका लागि किसानले दैनिकजसो बारीमा पुगेर मकैको बोट ओल्टाइपल्टाई हेर्ने गरेका छन् । गाउँका केही किसानले मात्र फौजी किरा नियन्त्रण गर्न किटनाशक विषादी प्रयोग गरिरहेका छन् । 

 

किटनाशक विषादी हाल्दा मानव स्वास्थ्यलाई जोखिम हुने र मकै बारीबाट निकालिने घाँसपात गाईवस्तुलाई खुवाउन पनि उत्तिकै जोखिम हुने भएकाले किसानले विषादीको सट्टा हातैले टिपेर किरा मार्ने विधि अपनाएका हुन् । 

 

फौजी किरा नियन्त्रणका लागि गाउँका केही किसानले विषादी प्रयोग गरे पनि अधिकांश किसानले मकैका प्रत्येक बोट ओल्टाइपल्टाई गरेर किरा झिक्ने गरेको राईले बताए ।

 

मकैको बोटबाट निकालिएको फौजी किरा भाँडामा जम्मा गरेर कुखुरालाई चारो खुवाउने गरिएको छ । कतिपय किसानले राती राती बारीको डिलमा आगो बालेर फौजी किराको पुतली जलाएर मार्ने गरेका छन् ।

 

कतिपय किसानले भने स्थानीय स्तरमा जैविक विषादी तयार पारेरै फौजी किरा नियन्त्रणको प्रयास गरिरहेका छन् । सो स्थानका किसानले गत वर्ष पनि मकैमा लागेको किरा नियन्त्रणका लागि यही विधि अपनाएका थिए । 

 

विषादी उपयोग नगर्ने किसानले दैनिक मकै बारीमा पुगेर फौजी किरा झिक्ने गरेका छन् । दैनिक खोजी गर्दै मार्दा क्रमशः फौजी किरा नियन्त्रणमा आइरहेको उनीहरूको अनुभव छ । 

 

एक पटक किरा झिकिसकेको बोटमा पुतलीले फुल पार्ने भएकाले पुनः फौजी किराको बच्चा भेटिने हुँदा मकैको बोटलाई पटक-पटक हेरचाह गर्नुपर्ने स्थानीय मदन राईले बताए ।

 

‘बारीमा गएर दैनिकजसो फौजी किरा खोजेर निकाल्ने गरिएको छ । कुनै दिन एक जग किरा भेटिन्छ’, मदनले भने, ‘दैनिक हेर्दा किराका साना-साना बच्चा भेटिन्छन् । नियमित टिपेकाले मकैमा पहिलाजस्तो किरा छैन ।’ 

 

किसानका अनुसार एक पटक विषादी हालेको ठाउँमा पुनः फौजी किरा देखिने भएकाले पटक-पटक विषादी हाल्नुपरेको छ । त्यसमाथि सुरक्षाका सामग्रीबिनै किसानले सामान्य मास्क मात्र लगाएर विषादी छर्कने गरेका छन् ।

 

कतिपयले मेटासिट छर्कने पम्प प्रयोग गरेर विषादी छर्ने गरेका छन् भने कतिपयले पेप्सीको बिर्कोमा सानो प्वाल पारेर विषादी छर्ने गरेका छन् । सुरक्षाका विधि नअपनाई विषादी छर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने देखिएको छ । 

 

फौजी किराको आतंक जिल्लाका १० वटै स्थानीय तहमा देखिएको छ । २०७६ मा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यो वर्ष अधिकांश स्थानीय तहमा फैलिइसकेको छ ।

 

जिल्लामा मकै प्रमुख खाद्यान्न बालीका रूपमा लगाउने गरिन्छ । फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ ।