close

बाँदरलाई जंगलमै फलफूल !  बालीनाली जोगाउने गज्जबको उपाय 

बाँदरलाई जंगलमै फलफूल !  बालीनाली जोगाउने गज्जबको उपाय 

Trulli
ADVERTISEMENT

तनहुँ– किसानले खेतबारीमा लगाएको मकै पाक्ने बेला भएको छ । लिची, आँप, कटहरजस्ता फलफूलको पनि सिजन हो, यतिबेला । मकै र फलफूल बाँदरबाट जोगाउन किसानलाई हम्मे–हम्मे छ । ग्रामीण बस्तीमा घरकै कौसीमा राखिएको अन्नबालीसमेत बाँदरले उछिट्याइदिन बेर लगाउँदैन ।

 

बाँदरबाट अन्नबाली र फलफूल जोगाउनलाई रुँघेर बस्नुको विकल्प छैन । मान्छे एक्लै देखे बाँदरको हुल जाइलाग्नसमेत सक्छ । म्याग्दे गाउँपालिका वडा नम्बर २ उमाचोकका स्थानीयले बाँदरबाट खेतीबाली जोगाउने उपाय खोजेका छन् । त्यो हो, जंगलमै फलफूलको व्यवस्था ! 

 

बाँदरलाई आहाराको व्यवस्थापन जंगलमै भए गाउँ पस्दैनन् भन्ने विश्वासले स्थानीयले उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोपेका छन् । सामुदायिक वनमा फलफूल रोप्न डिभिजन वन कार्यालय तनहुँले सघाएको छ ।

 

३ हेक्टर क्षेत्रफलमा आँप, लिची, चिउरी, बेलौती, लप्सी, जामुनो कटहर, अनार, काफल, अमलालगायत १२ प्रजातिका फलफूल रोपिएको सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले जानकारी दिए ।

 

जंगलमा रोपिएको फलफूल हुर्केर फल्न थालेपछि अहिलेको बाँदर आतंकबाट मुक्ति मिल्ने विश्वास छ, उनको । यतिबेला बाँदर आतंकले हैरान भएको उनी बताउँछन् ।

 

‘अहिले बाँदरको आतंक बढी नै छ । खेतीबारीको बाली सखाप पार्छ । नभएर घरमै पनि आएर खान्छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘२ वर्षअघि गाउँपालिकाले बाँदर लखेट्न पाइपको बन्दुक दिएको थियो । त्यसलाई पनि टेरेनन् । अहिले बाँदर लखेट्नलाई गुलेली प्रयोग गरिन्छ ।’ 

 

खेतीपाती जोगाउन हेरालु बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । सामुदायिक वनमा फलफूलको बिरुवा रोप्न डिभिजन वन कार्यालय तनहुँको ७ लाख ५० हजार रुपैयाँ लगानी हुनेछ । २० प्रतिशत लागत साझेदारी सामुदायिक वनले नै बेहोर्नेछ ।

 

४ वर्षसम्म रोपिएका बिरुवाको गोडमेल र संरक्षण सामुदायिक वनले गर्ने सम्झौता भएको सब– डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । 
उनका अनुसार यो बाँदरका लागि मात्रै नभएर वन्यजन्तुमैत्री फलफूल खेती पनि हो ।

 

‘जंगलमा फलफूल भएपछि कम्तीमा बाँदर भुल्छ । त्यो बेला त्यहाँबाट बाँदर धपाएर किसानले खेतीबाली जोगाउन सक्छन्’, रानाभाटले भने, ‘यसबाट बाँदरसँगै चितुवा नियन्त्रणमा पनि सजिलो हुन्छ । बाँदर चितुवाको आहारा हो । चितुवाले जंगलमै बाँदरलाई आक्रमण गर्छ र उसले त्यही आहारा बनाउँछ । त्यसपछि चितुवाले बस्ती पसेर बालबच्चा र वस्तुभाउलाई आक्रमण गर्दैन ।’ 

 

तनहुँमा चितुवा आक्रमणको शृंखला डरलाग्दो छ । ३ वर्षे अवधिमा झन्डै एक दर्जनको हाराहारी बालबालिकालाई नरभक्षी चितुवाले आफ्नो आहारा बनाएको छ ।
चितुवाको बासस्थान, आहारा र खानेपानी अभावमा मान्छेलाई आक्रमण गर्न थालेको विज्ञहरू बताउँछन् । 

 

उमाचोकबाहेक म्याग्देका अरू २ सामुदायिक वनमा पनि फलफूलका बिरुवा रोप्ने डिभिजन वन कार्यालयको योजना छ । म्याग्दे गाउँपालिका वडा नम्बर ५ स्थित सालडाँडा धुसेनीको ५ हेक्टर र वडा नम्बर ३ को सिद्ध बतासनको ३ हेक्टरमा फलफूलका बिरुवा रोप्ने तयारी भइरहेको कार्यालयले बताएको छ ।

 

म्याग्देसँगै तनहुँका १० वटै पालिकामा बाँदर आतंक बढ्दो छ । बाँदरबाट खेतीबाली जोगाउने उपाय खोज्न स्थानीय सरकारसँग सर्वसाधारणको माग हुन्छ ।

 

म्याग्देको उमाचोक सामुदायिक वनमा थालिएको अभ्यास बाँदरपीडित किसानलाई वरदान सावित हुन सक्छ ।एकातिर बाँदर फलफूल खाएर बस्ती पस्ने छैन भने अर्कातर्फ बाँदरले नसकेको फलफूल स्थानियको आम्दानीको स्रोत पनि बन्न सक्छ ।