close

तिलोत्तमाका किसानले पाए कृषि उपकरण

तिलोत्तमाका किसानले पाए कृषि उपकरण

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बिज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यो परियोजना सञ्चालनमा छ । 


परियोजनाले यसअघि किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेकामा पछिल्लो पटक धान काट्ने मेसिन, आलु लगाउने मेसिन, च्याउ बनाउने मेसिन सहयोग गरेको हो । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरण सहयोग गरिएको परियोजनाले जनाएको छ । 


पछिल्लो पटक परियोजनाले वडा नम्बर ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नम्बर १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नम्बर १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो ।


लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ । किसान समूहलाई कृषि सामग्री हस्तान्तरण गर्दै तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण अपरिहार्य रहेको बताए । 


परियोजनाअन्तर्गत किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको उनको भनाइ छ । तिलोत्तमाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेकाले कार्यक्रमबाट लाभ उठाउन किसानलाई आग्रह गरे ।  उपप्रमुख जागेश्वरदेवी चौधरीले उपलब्ध गराइएका कृषि उपकरण सदुपयोग गरेर उत्पादन क्षमता बढाउन सुझाइन् । 


यूएनडीपीका लुम्बिनी तथा गण्डकी प्रमुख सुदीप अर्यालले किसानको आवश्यकता र प्रयोगको आधारमा नगरपालिकाको समन्वयमा अन्य किसानलाई पनि कृषि उपकरणमा सहयोग गर्न तयार रहेको बताए । कृषि उपकरण हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारीका अध्यक्ष सीता न्यौपाने, व्यवस्थापक जमुना गिरीलगायतले परियोजनाअन्तर्गत भएका कामबारे जानकारी गराए ।


कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न तिलोत्तमामा गत वर्षदेखि व्यावसायिक आलु उत्पादन, बिज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष झन्डै ६५ बिघामा बिज वृद्धिका लागि आलु खेती गरिएको थियो । उत्पादित आलु यो वर्ष बिउको रूपमा प्रयोग गर्ने गरी शीतभण्डारमा राखिएको छ । परियोजनामार्फत तिलोत्तमालाई आलुमा आत्मनिर्भर बनाइने नगरप्रमुख घिमिरेको भनाइ छ ।