close

पशुपालनमा लम्किँदै कनकाईका तन्नेरी

पशुपालनमा लम्किँदै कनकाईका तन्नेरी

Trulli
ADVERTISEMENT

झापा–स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या लाखौँ छ । स्थानीय सरकारले विदेशिने युवालाई गाउँघरमै रोक्न कृषि, पशुपालन, स्वरोजगारका कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । झापाको कनकाई नगरपालिकाले पशुपालन व्यवसायमा युवालाई आकर्षित गराउन अनुदान, पशु बीमा, बजारीकरण आदिमा सहयोग गरिरहेको छ । 

 

कनकाई नगरपालिकाले पाँच वर्षे कार्यकालमा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि र पशुपालन क्षेत्रमा दिगो विकास अभियान थालेको थियो । पशुपालनलाई व्यावसायिक बनाएर आयआर्जन बढाउन  नगरपालिकाले जोड दिने गरेको छ । माछा, मौरी तथा पशुपक्षीपालन गर्न नगरपालिकाले स्रोत केन्द्र नै स्थापना गरेको छ । 

 

पशुपालन व्यवसायलाई विविधीकरण, व्यावसायिकीकरण, आयमूलक तथा सम्मानित पेसाको रूपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान गर्ने अवस्था सिर्जना भएको छ ।  यो लक्ष्य पूरा गर्न नगरको पशुपक्षी तथा मत्स्य विकास शाखाले चार खम्बे नीतिलाई अवलम्वन गरेको छ । उसले पशुको नश्ल सुधार, पोषण, स्वास्थ्य र बजार विस्तार गरेको छ ।  वडा नम्बर १, २ र ८ लाई पशुपालन पकेट क्षेत्रका रूपमा विकास गरिएको नगरपालिकाका भेटेरिनरी अधिकृत कुलबहादुर गुरुङ बताउँछन् ।

 

नगरपालिकाले प्रदेश १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्यायो । यही कोषबाट नगरपालिकाले पशुपालनलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउँदै लगेको छ । नगरले पशुपालकलाई पशु स्याहार–सुसार, गोठ खोर बनाउने तालिम दिँदा लाभ मिलेको स्थानीय कृषक गणेश लिम्बूको भनाइ छ ।

 

नगरपालिकाले उन्नत बोका र साँढे खरिद गरेर पशुपालकलाई वितरण गरेको छ । अहिले नगरमा पशु आहार विकास केन्द्र स्थापना भएको छ । नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै पशुपालन क्षेत्रको विकास गरेको पाइएको
छ । हालसम्म नगरकै संयोजनमा १ सय ५९ वटा पशुलाई खोप लगाइएको छ । 

 

पशु बेचबिखनको केन्द्रका रूपमा परिचित झापाको पुरानो बजार घैलाडुब्बालाई व्यवस्थित बनाइएको छ । पशु वधशाला निर्माण गरिएको छ । गाईको नश्ल सुधार गरेर दूध उत्पादन वृद्धि हुँदै गएको छ । पशुपक्षी मर्दा किसानले नोक्सानी बेहोर्नुपर्ने अवस्था हटाउन नगरले संघीय सरकारको पशु बिमा कार्यक्रम अघि बढाइएको कनकाईका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

 

भौगोलिकता र जैविक विविधताका कारणले कनकाई पशुपालनका लागि उपयुक्त स्थान हो । यहाँको वातावरण, वनजंगल, जलस्रोत अनि कृषि क्षेत्रले ओगटेको जमिनलगायत सबै कुरालाई हेर्दा पशुपालनका लागि उपयुक्त छ । यही अवसरलाई शक्तिमा बदल्न सफल नगरपालिकाले पशुपालनबाट समृद्धि हासिल गर्ने दिशा पछ्याइरहेको छ ।