close

महोत्तरीमा धान रोपाइँमा समस्या

महोत्तरीमा धान रोपाइँमा समस्या

Trulli
ADVERTISEMENT

महोत्तरी । मध्य असारयता  छिटो पानी नपरेपछि  मधेशको मध्यभेगको महोत्तरीमा धान रोपाइँ  अलपत्र परेको छ । 
महोत्तरीबाहेकका मधेशका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।

असार मध्ययता पानी परेको छैन । त्यसअघि  परेको पानीमा धान रोप्न भनेर  हिल्याइएका खेत अहिले सुकेका  छन्  । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् ।

असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले  यहाँका किसानलाई पिरोलेको छ ।

“ल, भन्नोस् न, आज (शनिबार) असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के  गरी गुजारा गर्ने होला ?” भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले भने । 

मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन । 

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ ।