close

कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

Trulli
ADVERTISEMENT

चितवन । चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।

खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैतेधान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाउने भएका हुन् । कार्यालयका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार ८० हजार पाँच सय १५ कठ्ठामा चैतेधान खेती गरेको निवेदन परेको थियो । निवेदनपश्चात स्थलगत अनुगमन र प्रमाणीकरणपछि ७४ हजार एक सय २४ कठ्ठामा लगाइएको धानखेतीका लागि प्रोत्साहन रकम वितरण गर्न लागिएको हो । 

पुनका अनुसार २० कठ्ठासम्म चैतेधान खेती गर्ने कृषकका लागि प्रतिकठ्ठा रु एक सयका दरले र सोभन्दा बढी गर्नेका लागि रु ९५ का दरले प्रोत्साहन रकम वितरण गरिने छ । प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । यसमा रु ७३ लाख प्रोत्साहन अनुदान वितरण गर्न लागिएको हो । 

कार्यक्रमअनुसार प्रतिकठ्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णय भएको उहाँले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ ।