close

करिब दुई अर्बसँगै २१ अर्ना स्वाहा !

करिब दुई अर्बसँगै २१ अर्ना स्वाहा !

Trulli
ADVERTISEMENT
  • प्रतिमा सिलवाल

चितवन । यो साता चितवन राष्ट्रिय निकुञ्जमा बाँकी भएका तीन वटा अर्ना मरेसँगै अमेरिकी सरकारको सहयोगमा विश्व वन्यजन्तु कोषसहितका संस्थाले चलाएको हरियो वन कार्यक्रमको एक करोड १० लाख ४६ हजार ४६२ रुपैयाँ सकियो । 

चितवनको वातावरण अर्नाको लागि अनुकूलन छ की छैन भनेर सामान्य गृहकार्य समेत नगरिएको एउटा निर्णयबाट  करिब दुई करोड रुपियाँ बालुवामा पानी हालेझैं खेर गएको छ । ती अर्ना इन्क्लोजर भनिने आकाशतिर खुला हुने ठूलो खोरमा राखिएका थिए।

यसको असफलताको कथा महालेखाको प्रतिवेदनमा पनि प्रतिबिम्बित भएको छ। चितवन राष्ट्रिय निकुञ्जले २०७३ सालदेखि इन्क्लोजर बनाएर संरक्षण गर्दै आएको अर्ना मासिँदै गएपछि गत आर्थिक वर्षको प्रतिवेदनमा महालेखाले प्रश्न उठाएको थियो, ‘‘अर्ना संरक्षणमा आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा ६३ लाख ६९ हजार खर्च भए तापनि अर्नाको संरक्षणमा अपेक्षित सफलता भएको देखिएन।’

आर्थिक वर्ष २०७७।०७८ मा मात्रै निकुञ्जमा स्थानान्तरण गरी ल्याइएका १५ मध्ये बाँकी रहेका १३ वटा अर्नाबाट १० वटा मरेपछि अर्नाको संख्या नै किटान गरी महालेखाले उक्त प्रश्न गरेको थियो। महालेखाले बाँकी तीनवटा अर्नाको संरक्षण गर्नको लागि आवश्यक अनुसन्धानका आधारमा अर्ना स्थानान्तरणलाई व्यवस्थित र दिगो बनाउन सम्बन्धित पक्षलाई सुझाव समेत दिएको थियो।

यो प्रतिवेदन सार्वजनिक भएको महिना दिन पनि बित्न नपाउँदै चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना मासिएका छन्। गत सोमबार साउन ३० गते संरक्षित क्षेत्रमा बाघ प्रवेश गरी बाँकी तीनवटै पोथी अर्ना खाइदिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना मासिएका हुन् । २०७३ सालमा कोसीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना जावलाखेलबाट १५ वटा अर्ना चितवन ल्याइयो । जसमा १२ वटा कोसीटप्पु र तीन वटा सदर चिडियाखानाबाट ल्याइएका थिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अर्ना चितवन ल्याउने र व्यवस्थापन गर्ने कार्यमा हालसम्म एक करोड ७३ लाख ६४ हजार ४६२ रुपैयाँ खर्च भएको छ।

उक्त रकममध्ये गत आर्थिक वर्ष मात्रै नेपाल सरकारले ६३ लाख १८ हजार रुपैयाँ खर्च गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । निकुञ्जमा अर्ना ल्याइसके पछि बनेको अध्ययन समितिको प्रतिवेदन अनुसार १ करोड १० लाख ४६ हजार ४६२ रुपियाँ खर्च यूएसएड र डब्लुडब्लुएफ अन्तर्गत हरियो वन कार्यक्रमको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी चितवनमा १५ वटा अर्ना २०७३ सालमा ल्याइएको थियो। चितवनको हावापानीमा अनुकुलन हुन नसकी सदर चिडियाखानाबाट ल्याइएको तीन वटै अर्ना २०७४ सालसम्म मरिसकेका थिए।

त्यसपछि बाँकी थिए कोशीटप्पुबाट ल्याइएका १२ वटा । अर्ना समूहमा रहने जनावर भएकोले उनीहरूको प्रजनन र संख्या विस्तारको लागि भनेर निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३७ हेक्टर जमिन तारबार गरि इन्क्लोजर बनाइ राखिएको थियो।

ति तारमा सोलार पावर समेत जडान गरिएको थियो। तर, निकुञ्जको नियमित रेखदेख र व्यवस्थापन अभावमा बच्चा जन्माएर पनि अर्नाले चितवन निकुञ्जमा आफ्नो वंश विस्तार भने गर्न सकेन।

२०७४ सालको बाढीमा ५ वटा अर्नाको बगेर मृत्यु भयो। त्यसपछि एउटा बच्चालाई अजिङगरले खाएर मृत्यु भयो। निकुञ्जका अनुसार बूढो भएर ८ वटा अर्ना मरे। चार वटालाई भने बाघले खाएर मार्यो। तीमध्ये एउटा बच्चा जन्माइसकेको आमा अर्ना थियो। बाँकी तीन वटा यसवर्ष बाघले इन्क्लोजरबाट भित्र छिरेर अर्ना खाएको हो। 

निकुञ्जमा ल्याइएको १५ वटा र तिनका सन्तति ६ वटा गरी चितवनमा २१ वटासम्म अर्ना रहेको थियो। तर, अब सबै अर्ना सकिए।