अर्घाखाँची - पाणिनी गाउँपालिकाले बाच्छा तथा बाच्छीको जन्मदर्ता गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र जन्मिएका बाच्छा र बाच्छीको जन्मदर्ता गर्न लागेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको पशु शाखाका प्रमुख कृष्ण प्रसाद घिमिरेका अनुसार पालिकाले उन्नत जातको गाई प्रवर्द्धनका लागि बाच्छा तथा बाच्छी जन्मदर्ता बनाउन गर्न लागेको हो । जन्मदर्ताको लागि गाउँपालिकाबाट प्राविधिकसहितको टोली कृषकको घरमा गएर ट्याग लगाइदिने र आवश्यक प्रकृया सम्बन्धित वडा कार्यालयले गर्ने उनले पालिकाखबरलाई सुनाए ।
उनका अनुसार गाउँपालिकाले सो कार्यक्रमको लागि पालिकाले चालु आवमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जन्मदर्ता गरेको बाच्छीले सोही घरमा पहिलो पटक बच्चा जन्माएमा सुत्केरी भत्ता स्वरुप १० हजार रुपैयाँ दिने योजना बनाएको उनले सुनाए ।
गाउँपालिकाभित्र करिब ५०० घरधुरी पशुपालक कृषक रहेको उनले बताए । गाउँपालिकामा गत आर्थिक वर्षमा १० लाख लिटर दूध उत्पादन भएको थियो । दूध उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा अनुदान रकम दिँदै आएको उनले सुनाए ।
दूध उत्पादन गर्ने कृषकलाई समेत वर्गीकरण गर्ने योजना बनाएको उनले बताए । उनका अनुसार गाउँपालिकाले चालु आवमा ५०० देखि तीन हजार र तीन हजारभन्दा बढी दूध उत्पादन गर्ने कृषक वर्गीकरण गरिने छ ।