close

एउटै पालिकाभित्र १०० कुखुरा र ३०० माछा फार्म

एउटै पालिकाभित्र १०० कुखुरा र ३०० माछा फार्म

Trulli
ADVERTISEMENT

सप्तरी– डाक्नेश्वरी नगरपालिका दूध र कुखुरामा आत्मनिर्भर छ । पालिकामा गाईभैँसी र कुखुरा पालनसँगै बजार प्रवर्द्धनलाई नगरपालिकाले प्राथमिकतामा राख्दा आत्मनिर्भर भएको हो । 

नगरपालिकाका पशु विकास अधिकृत राजलाल पंडितका  अनुसार नगरपालिकामा १४ वटा व्यावसायिक पशु फार्म छन् । प्रतिफार्मले ६ जना भन्दा धेरै जनालाई रोजगारी दिएको उनी बताउँछन् । नगरपालिकाभित्र दर्ता नगरी पशुपालन गर्ने कृषकहरू धेरै रहेको उनको भनाइ छ ।

पशु विकास अधिकृत पण्डितका अनुसार पालिकामा १०० भन्दा धेरै कुखुरा फार्म सञ्चालनमा छ । नगरपालिकामा उत्पादन भएको दूध र कुखुरा पालिकासँगै अन्यत्र लगेरसमेत बिक्री गर्ने उनले बताए । उनले भने, ‘यहाँको सबैभन्दा नजिकको बजार राजविराज नगरपालिका हो । दूध राजबिराजसम्म पुग्छ । कुखुरा राजविराज हुँदै नारायणघाटसम्म पुग्छन् ।’

तर दूध उत्पादक कृषकले उचित मुल्य नपाएको उनले बताए । उनले भने, ‘यहाँ कृषकहरूसँग दूध व्यवसायीहरूले ६० रुपैयाँ प्रतिलिटरमा दूध किनेर ९० रुपैयाँसम्म बेच्ने गरेको गुनासो आउँछ ।’

व्यवसाय दर्ता गरे अनुदान नै अनुदान

डाक्नेश्वरी नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने कृषकका लागि विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरेको उनले बताए । गत आर्थिक वर्ष २०७९/०८० मा भकारो सुधार कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनको अनुसार व्यावसायिक पशुपालन सञ्चालन भएका १२ वटा गोठको सुधार गरिएको थियो । 

कृषकहरूलाई च्यापकटर वितरण गरेको उनले जानकारी दिए । व्यावसायिक पशुपालनमा संलग्न कृषकहरूलाई अवलोकन भ्रमणमा लगेको उनले बताए । उनको अनुसार जिल्लाभित्रकै पशुपालन केन्द्र र सुनसरीसम्म पशुपालनसम्म अवलोकन भ्रमण गराएको उनले बताए । 

नगरपालिकाले व्यावसायिक पशुपालन गरेका कृषकको प्रत्येक गाईभैंसीको निशुल्क पशु स्वास्थ्य बिमा गरेको छ । साथै पशुपालनसम्बन्धी एक हप्ते तालिम समेत सञ्चालन गरेको उनले बताए । कृषकहरूलाई घाँसको बिउ समेत उपलब्ध गराएको उनले बताए । 

नगरपालिकाले नश्ल सुधारको क्रियाकलाप पनि गर्ने उनले बताए । उनले भने, ‘पालिकामा कृषक आफै आउनु भयो भने निशुल्क र घरमै गएर गर्दा राजश्व लिन्छौँ ।’

माछापालनमा कृषकको चासो 

नगरपालिकाका कृषकहरूको पछिल्लो समयमा माछा पालनमा समेत चासो बढेको छ । नगरपालिकामा करिब तीनसय जना कृषक माछा पालन व्यवसायमा संलग्न रहेको मत्स्य विकास अधिकृत मो. मजिदका बताउँछन्  । उनको अनुसार व्यवसाय दर्ता गरेर ५० जना कृषकले माछा पालन गरिरहेका छन् । 

आफ्नै पोखरीमा वा पोखरी लिजमा लिएर पनि माछा पालन गरिरहेको उनले जानकारी दिए । दुईतीन बिघा क्षेत्रफलको पोखरीसम्म माछा पालन गरिने उनले बताए । माछा पालनबाट प्रति हेक्टर डेढ क्विन्टलसम्म माछा उत्पादन भइरहेको उनले पालिकाखबरसँग बताए ।

नगरपालिकामा माछा पालन व्यवसाय फस्टाउन थालेपछि भुरा उत्पादन गर्ने २ वटा नर्सरी सञ्चालनमा छन् । उनी भन्छन्, ‘पछिल्लो समय माछा पालन व्यवसाय गर्ने कृषकहरू बढिरहेका छन् । बजार राम्रो भएकाले कृषकहरू पनि सन्तुष्ट छन् ।’ 

नगरपालिकामा लाग्ने हटियामा माछाको कारोबार धेरै हुने भएकाले उत्पादित माछाको बजार व्यवस्थापनमा समस्या नभएको उनी बताउँछन् । स्थानीय बजारदेखि राजगढसम्म लगेर माछा बिक्री गरिने उनले सुनाए । 

गत वर्ष माछा पालनलाई प्रोत्साहित गर्न माछाको भुरा र चुन वितरण गरेको उनले बताए । उनले भने, ‘यस आर्थिक वर्षको बजेटको सिलिङ माग्दा पनि पाएको छैन ।’ उनले पालिकाखबरसँग भने ।