close

विदेश जानकै लागि पशु फार्म

विदेश जानकै लागि पशु फार्म

Trulli
ADVERTISEMENT

मोरङ - सुन्दरहरैचा नगरपालिकामा अधिकांश पशु फार्म विदेश जानको लागि दर्ता भएका छन् । वैदेशिक रोजगारीका लागि आम्दानीको स्रोत देखाउन मात्र फार्म दर्ता गर्ने लहर चलेको नगरपालिकाले जनाएको छ । 

वैदेशिक रोजगारीमा सेटल भइसकेपछि फार्म बन्द गर्ने गरिन्छ । नगरपालिकाको पशुपन्छी शाखाका अधिकृत किशोरकुमार कार्कीका अनुसार पालिकाभित्र हालसम्म ९०० भन्दा बढी व्यावसायिक पशु फार्म दर्ता भइसकेका छन् । तर तीमध्ये अधिकांश फार्म बन्द भइसकेको उनले पालिकाखबरलाई बताए । 

'यहाँ अधिकांश फार्म विदेश जानको लागि नै दर्ता हुँदो रहेछ । पालिकामा फार्म दर्ता भएको केही वर्ष सञ्चालन भएको देखाउँछन् । छोरा छोरीलाई विदेश पठाइसकेपछि फार्म पनि बन्द हुन्छ,' उनले भने । 

पालिकाभित्र दर्ता भएको फार्मबारे समय समयमा अनुगमन र निगरानीसमेत गर्दै आएको उनले सुनाए । 'हामीले अनुगमनको क्रममा पनि फार्म बन्द भएका पाएका छौँ,' उनले भने, 'कतिपय व्यवसायीलाई फोन गरेर फार्मबारे जानकारी लिने गरेको छौँ ।'

फोन गरेर सोध्दा छोराछोरी विदेश गएको र काम गर्ने मान्छे नभएकाले फार्म बन्द गर्न बाध्य भएको बहाना सुनाउने गरेको उनको अनुभव छ । साथै कोरोना महामारी, आर्थिक मन्दी तथा बजारीकरणको समस्याले पालिकाभित्रका करिब आधा फार्म बन्द भइसकेको उनको भनाइ छ ।

तर हालसम्म कति फार्म बन्द भए भन्नेबारे पालिकासँग तथ्यांक नभएकाले उनले सुनाए । व्यवसायीले सम्बन्धित वडामा फार्म बन्द गर्ने सिफारिस लिएर पालिकामा राजस्व तिरेर बन्द गर्ने गरेको उनले सुनाए । 

पशु फार्मलाई सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले अनुदानमा सामग्री वितरण गर्दै आएको उनले सुनाए । उनका अनुसार नगरपालिकाले अनुदानमा घाँसको बीउ, सामग्री, क्यान, गोठ सुधार कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाभित्र गाई भैंसी, बंगुर, कुखुरा हाँस तथा माछा पालन हुँदै आएको उनले बताए । उत्पादित मासु तथा दूध स्थानीय बजारमा नै प्रयोग हुने उनको भनाइ छ । साथै बंगुर काठमाडौंमा बिक्री हुने उनले सुनाए । 

नगरपालिकाले पशुको लागि नगर अस्पताल सञ्चालन गर्ने योजना बनाएको उनले सुनाए । सोका लागि आवश्यक बजेट विनियोजन भइसकेको नगरपालिकाले जनाएको छ ।