close

दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान

दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

इलाम - सन्दकपुर गाउँपालिकाले दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन दिने भएको छ । गाउँपालिकाले पशु पालक कृषकको सहयोग तथा पशु पालनमा आकर्षण बढाउनका लागि प्रोत्साहन रकम वितरण गर्न लागेको हो । 

गाउँपालिकाले आगामी केही दिनबाटै सो रकम वितरण गर्न थाल्ने पालिकाका पशु सेवाका प्रमुख सविन भट्टराईले बताए  । उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षबाट पहिलो पटक प्रोत्साहन रकम वितरण गर्न लागेको हो । 

गाउँपालिकाले चालु आवमा १० लाख  ३ हजार दूधमा प्रोत्साहन रकम वितरण गर्ने उनको भनाइ छ । सोका लागि गाउँपालिकाले चालु आवमा एक रुपैयाँको दरले १० लाख तीन हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकामा हाल दैनिक रुपमा १५ देखि २० हजार रुपैयाँसम्म दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूध स्थानीय सहकारी संस्था, डेरी तथा संकलक केन्द्रले संकलन गर्दै आएको उनले सुनाए । सोही सहकारी तथा डेरीमार्फत गाउँपालिकाको उपस्थितीमा प्रोत्साहन रकम वितरण गर्ने उनले सुनाए । 

उत्पादित दूध डिडिसीलाई बिक्री गर्नुका साथै घ्यू र छुर्पी बनाउँदै आएको छ । तर पछिल्लो समय छुर्पीको मूल्यमा गिरावट भएकाले स्थानीय बासिन्दालाई समस्या हुने गरेको उनले सुनाए । 

'छुर्पिको मूल्य राम्रो हुँदा दुई वटा गाई पालेर पनि सन्तानलाई बोर्डिङ स्कूलमा पढाएर जिविकोपार्जन गर्न सक्ने स्थानीय बासिन्दा हुनुहुन्थ्यो,' उनले भने, 'तर अहिले मूल्य कम भएकोले केही समस्या हुने गरेको छ ।'गाउँपालिकामा हाल करिब तीन हजार परिवारलाई पशु पालन गर्दै आएको उनको भनाइ छ । 

गाउँपालिकाले दूध तथा कृषिजन्य सामग्रीको बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको उनले सुनाए । सहकारीमार्फत सञ्चालन गर्ने योजना रहेको गाउँपालिकामा इच्छुक सहकारीको लागि सूचनासमेत जारी गरिसकेको उनको भनाइ छ । 

पशुपालक कृषकलाई लक्षित गरी गाउँपालिकाले कृत्रिम गर्भाधानलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले सुनाए ।