close

कृत्रिम गर्भाधान सेवा लिन गाउँपालिकाको अनुरोध

कृत्रिम गर्भाधान सेवा लिन गाउँपालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकामा पशुमा कृत्रिम गर्भाधान सेवा लिने पशुपालक कृषक न्युन रहेका छन् । गाउँपालिकाको पशु शाखाले कृत्रिम  गर्भाधान सेवा उपलब्ध गराउँदै आए पनि सेवा लिने स्थानीय कृषकको सङ्ख्या न्युन रहेको छ ।

गाउँपालिकामा ८० देखि ८५ वटा पशुको मात्र कृत्रिम  गर्भाधान हुँदै आएको गाउँपालिकाकी पशु शाखा प्रमुख गीता नेपालीले बताइन् । उनका अनुसार पालिकाले गाईभैँसीमा उन्नत जातका वीड राख्दै आएको छ । गाईमा होलिस्टेन र जर्सी जातका तथा भैँसीमा मुर्रा जातका वीड राख्दै आएको उनले बताइन् । 

गाउँपालिकाको कार्यालयमा नै स्थानीय सेवा लिन पुगेमा निःशुल्क तथा घरमा सशुल्क कृत्रिम  गर्भाधान सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । 

गाउँपालिकाले गत शुक्रबार एक सूचना जारी गर्दै लामो समयदेखि कृत्रिम  गर्भाधान सेवा उपलब्ध गराउँदै आएको जनाउँदै सेवा लिन पशुपालक कृषकलाई अनुरोधसमेत गरेको छ । कृत्रिम  गर्भाधानमार्फत आफूले चाहे अनुसारको उन्नत जातको पाडापाडी, बाछाबाछी उत्पादन भई नश्ल सुधार हुने, दुध उत्पादनमा वृद्धि हुने, छिटो र सहज तरिकाले गाईभैँसीलाई गर्भाधान गराउन सकिने गाउँपालिकाले जनाएको छ ।